भक्तपुर । विजयादशमीको अवसरमा भक्तपुरस्थित ब्रह्मायणी मन्दिरमा लाग्ने परम्परागत ब्रह्मायणी जात्रामा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ। नवदुर्गाको शक्तिपीठका रूपमा मानिने यस मन्दिरमा त्रिपुरासुन्दरी प्रकट हुने जनविश्वासका साथ प्रत्येक वर्ष विजयादशमीका दिन भव्य मेला लाग्ने परम्परा छ।
जात्रामा सहभागी हुन भक्तपुरवासी मध्यरातिदेखि नै धिमेबाजा बजाउँदै घरघरबाट ब्रह्मायणी मन्दिर पुगेका थिए। मन्दिरमा पूजा तथा दर्शन गर्न भक्तजनको बिहानैदेखि उल्लेख्य उपस्थिति रहेको छ।
यस जात्राको विशेष पक्षका रूपमा व्रत बसेका भक्तजन घरदेखि मन्दिरसम्म घस्रिँदै वा पल्टिँदै पुग्ने गर्दछन्। कतिपयले शरीरमा पाँच, सात र १८ वटा दियो बालेर तथा शरीर नाप्दै मन्दिरसम्मको यात्रा पूरा गरी पूजा गर्ने परम्परा छ। यसरी पूजा गर्दा मनोकामना पूरा हुने र धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ।
नेवार समुदायमा विजयादशमीलाई ‘मोहिनी नखः’ का रूपमा मनाउने चलन छ। यस दिन घरघरमा कालो टीका लगाएपछि प्रत्येक घरबाट पूजासामग्री लिएर ब्रह्मायणी मन्दिर पुग्नुपर्ने परम्परा रहेको छ। नवदुर्गा प्रकट हुने विश्वासका कारण मन्दिरमा दिनभरि नै भक्तजनको चहलपहल रहने गर्दछ।
ब्रह्मायणी मन्दिरमा पूजा गर्न भक्तपुर, मध्यपुरथिमि, ताथली, सुडाल, बागीश्वरी, चित्तपोल, सिपाडोल, नङ्खेल र गुण्डुललगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन्। त्यस्तै काभ्रे, ललितपुर र काठमाडौंबाट समेत दर्शनार्थी पुग्ने गरेका छन्। मन्दिरमा जमरा, हाँसको फूल, हाँस, बोका तथा भालेको बलि दिएर पूजाआजा गर्ने परम्परा छ।
यस जात्राको सुरुआतसँगै जोडिएको अर्को महत्वपूर्ण परम्परा खःमेय अर्थात् राँगोको बध हो। गँठेमङ्गलका दिन नवदुर्गा मन्दिरमा ल्याएर पालिएको महिषासुर दैत्यको प्रतीक मानिने खःमेयलाई मंगलबार साँझ जाँड खुवाएर मत्ताइन्छ। त्यसपछि अबिर र तेल दलेर दौडाउँदै तथा लखेट्दै ब्रह्मायणी मन्दिर पुर्याई बध गरिन्छ।
खःमेयको बधसँगै सुरु भएको ब्रह्मायणी जात्रामा रातिदेखि नै भक्तजनको भीड बढेको हो। धार्मिक आस्था, मौलिक संस्कृति र परम्पराको संगमका रूपमा रहेको यस जात्राले भक्तपुरको सांस्कृतिक पहिचानलाई जीवन्त राख्दै आएको छ।