काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले युवालाई नवप्रवर्तनमार्फत स्वदेशमै क्रियाशील हुने वातावरण बनाइए विदेश जाने क्रम रोकिने बताएका छन् ।
राष्ट्रिय सभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ को छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले लामो पहलपछि बेग्लै मन्त्रालय स्थापना भएको र यस क्षेत्रका लागि बजेट बढ्न थालेको बताए।
मन्त्री पुनले मुलुकमा आविष्कार केन्द्र खोल्न आफूले विगतमा गरेका कामको चर्चा गर्दै अघिल्ला सरकारहरूले विज्ञान र प्रविधिलाई कम महत्त्व दिएकाले आफू राजनीतिमा आउनुपरेको स्पष्ट गरे ।
मन्त्रालयका लागि पुँजीगत खर्चको एक प्रतिशत(रु चार अर्ब) विनियोजन गरिएको जनाउँदै बजेट पेस भएको समयमा मन्त्री नियुक्त नभएकाले रु तीन अर्ब ४० करोड अवण्डामा राखिएको उनले बताए ।
मन्त्री पुनले प्रदेश र स्थानीय तहले पनि पुँजीगत खर्चको एक प्रतिशत रकम विज्ञान र प्रविधिको क्षेत्रमा विनियोजन गर्न आग्रह गर्दै आएको उल्लेख गरे ।
मन्त्रालयले नेतृत्व पाएपछि नियम कानुनको तयारी एवं संगठन तथा व्यवस्थापन सर्वेक्षणलगायतका काममा लागेको उनले जानकारी दिए । युवा वैज्ञानिकलाई अनुसन्धानका लागि प्रस्ताव मागिने उनको भनाइ छ ।
मन्त्री पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक’ विचाराधीन रहेको र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलाई बजेट बढाइने अवगत गराए ।
नेपालमा हालसम्म ‘प्याटेन्ट राइट्स’ जम्मा ९० वटा मात्रै दर्ता भएको स्थितिमा सुधार ल्याइने प्रतिबद्धता व्यक्त गर्दै विज्ञानमा हुने खर्च लगानीका रूपमा रूपान्तरण हुने बताए।
“विकसित देशले विज्ञान र प्रविधिका क्षेत्रमा लगानी गरेकाले उनीहरूले सुखको प्रतिफल पाएका छन्’’, मन्त्री पुनले भने, “देशको समृद्धिका लागि यस क्षेत्रमा बजेट बढाउनै पर्छ । विदेशमा रहेका प्रतिभा र वैज्ञानिकलाई खोजी खोजी स्वदेशमा ल्याउनुपर्छ । यसमा हामी काम गरिरहेका छौँ ।’’