भोजपुर ।जिल्लाका विभिन्न स्थानमा बुधबार अचानक असिनासहित वर्षा भएपछि पाकेर भित्र्याउने तयारीमा रहेको धानबालीमा क्षति पुगेको छ । धान काट्ने र भित्र्याउने समयमा एक्कासि असिना पानी परेपछि किसान चिन्तित बनेका छन् ।
जिल्लाका विभिन्न क्षेत्रमा परेको असिना पानीले खेतमा पाकेको धानबालीमा क्षति पुर्याएको हो । भोजपुर नगरपालिका–५ का स्थानीय किसान धनबहादुर थापाका अनुसार असिना पानीले धानबालीमा क्षति पुर्याएको छ ।
‘हिजो एक्कासि असिना पानी पर्यो,’ उनले भने, ‘फेरि पनि यस्तै वर्षा हुने हो कि भन्ने चिन्ता बढेको छ । असिना पानी दोहोरिएमा धानबालीमा ठूलो क्षति पुग्न सक्छ ।’
उनका अनुसार केही किसानले अझै धान काट्न बाँकी छ भने कतिपयले काटेर खेतमै सुकाइरहेका छन् ।
धान पाकेर खेत पहेँलपुर भएको अवस्थामा मौसममा आएको अचानक परिवर्तनले किसानको चिन्ता बढाएको छ । असिना पानी दोहोरिएमा पाकेको धान झर्ने, ढल्ने तथा काटेर खेतमा सुकाइएको धानसमेत नष्ट हुने जोखिम रहेको किसानहरूले बताएका छन् ।