सिंहदरबारभित्र एक मन्त्रीका सल्लाकारले चलाएको कारले सांसदलाई ठक्कर दिएको छ। कार चलाउने व्यक्ति पूर्वाधारमन्त्री सुनील लम्सालका सल्लाहकार अनुकुल निधि रहेका छन्। निधिले चलाएको कारबाट ठक्कर घाइते भएकी सांसद राष्ट्रिय सभाका सदस्य राजेन्द्रलक्ष्मी गैरे हुन्।
सांसद गैरे शुक्रबार पूर्वाधार मन्त्रालय अगाडिको जेब्राक्रसिङबाट सडक पार गर्दै राष्ट्रिय सभाको सचिवालय जाँदै थिइन्। त्यति नै बेला पूर्वाधार मन्त्री लम्सालका यातायात विज्ञ सल्लाहकार अनुकुल निधिले चलाएको कारले सांसद गैरेलाई ठक्कर दिएर लडाएको थियो। सांसद गैरेलाई तत्काल उपचारका लागि राष्ट्रिय सभाको सचिवालयमा लगिएको थियो। संसद सचिवालयमा कार्यरत स्वार्थ्यकर्मीले उनलाई उपचार गरेका थिए।
त्यस क्रममा सांसद गैरेले घटनाबारे भनिन्, ‘भौतिक पूर्वाधार मन्त्रालय अगाडिको जेब्रा क्रसिङमा बाटो काट्दै थिएँ, हातले कार रोक्न इशारा पनि गरेको थिएँ । तैपनि मलाई कारले ठक्कर दियो, भुइँमा लडेँ ।’
सडकमा लडेकी सांसदलाई मन्त्रीका सल्लाहकार निधिले उठाएका थिए। बाहिरी चोटपटक नलागेको हुनाले निधि मन्त्रालय गएका थिए। त्यहाँ सामान्य उपचार गरेपछि सांसद गैरेलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेर थप उपचार गरिएको छ।
निधिले गैरेलाई आफ्नो भिजिटिङ कार्ड दिएका थिए। निधिले बा १७ च ८८०७ नम्बरको कार चलाएका थिए। गैरे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की राष्ट्रियसभा सदस्य हुन्। मन्त्रीका सल्लाहकारले चलाएको कारले आफूलाई सिंहदरबारभित्र जेब्रा क्रसिङमा ठक्कर दिएको बारेमा सांसद गैरेले राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललाई जानकारी गराएको बताइन्।