काठमाडौं । निर्देशक वसन्त निरौलाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।
फ्राइडे रिलिजअन्तर्गत प्रदर्शनमा आएको चलचित्रले सुरुआती चरणमा सन्तोषजनक शो प्राप्त गरेको निर्माण पक्षले जनाएको छ । बलिउडको ठूलो चलचित्र पनि एकैसाथ प्रदर्शनमा आएकाले प्राप्त शो संख्यालाई सकारात्मक रूपमा लिएको निर्देशक निरौलाले बताएका छन् ।
उनले चलचित्रको कथा, आइडिया र प्रस्तुतिलाई दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै दोस्रो दिनदेखि हलहरूले शो थप्ने अपेक्षा गरे । चलचित्रको विषयवस्तु र प्रस्तुतिमा आफू विश्वस्त रहेको उनको भनाइ छ ।
‘पाँच पाण्डव’मा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरी, दीपाश्री निरौला, सरिता गिरी, रमा थपलियालगायत कलाकारको अभिनय रहेको छ । प्रशान्त ताम्राकार, सीता न्यौपाने र रितेश पौडेल पनि चलचित्रमा देखिएका छन् ।
काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् भने निर्माता काली रानी श्रेष्ठ रहेकी छन् । चलचित्रको कथा, पटकथा तथा संवाद सुशील पौडेलले लेखेका हुन् ।
सामाजिक कथावस्तुमा आधारित चलचित्रले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको लेखक पौडेलले बताएका छन् ।
चलचित्रको छायांकन श्याम तामाङले गरेका हुन् । सम्पादन तथा रङ्ग संयोजन सुप्रिम पराजुलीको रहेको छ भने द्वन्द्व निर्देशन सम्राट बस्नेतले गरेका छन् । गम्भीर विष्ट र विक्रम स्वाँरको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत तथा उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको चलचित्रमा सुजिल कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक र पुकार धिमालको भिएफएक्स रहेको छ ।
चलचित्रमा दर्शकले डल्बी एटमस साउन्डको अनुभव लिन पाउने निर्माण पक्षले जनाएको छ । ओएसआर डिजिटल चलचित्रको डिजिटल पार्टनर रहेको छ भने आरआर फिल्म्सले देशव्यापी वितरण गरेको छ ।