काठमाडौं विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन् । पोखरा एभेन्जर्सविरुद्ध उनले ३ ओभरमा २३ रन खर्चेर ६ विकेट हात पारेका हुन् ।
यससँगै सन्दीप जारी सिजनमा एकै खेलमा ६ विकेट लिने पहिलो बलर बनेका छन् । यसअघिका पाँच खेलमा जम्मा एक विकेट लिएका उनले छैटौँ खेलमा भने सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।
सन्दीपले खेलको १५औँ ओभरमा लगातार तीन बलमा तीन विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए । उनले ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा विकेट लिएका हुन् ।
सन्दीप एनपीएल इतिहासमा ह्याट्रिक विकेट लिने चौथो खेलाडी बनेका छन् । यसअघि विराटनगर किंग्सका प्रतिश जिसी, काठमाडौं गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए ।
सन्दीपको घातक बलिङपछि पोखरा एभेन्जर्सको मध्यक्रम ध्वस्त भएको छ । यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले पनि एनपीएलमा एकै खेलमा ६ विकेट लिइसकेका छन् ।