काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय काटिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएसँगै ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअन्तर्गत उनलाई कैदमुक्त गरिएको हो।
काठमाडौं जिल्ला अदालतले रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालयलाई पत्राचार गरेको थियो। रायमाझीले दिएको निवेदनका आधारमा अदालतले संशोधित कैदीपुर्जी कारागार पठाएको थियो। डिल्लीबजार कारागारका जेलर बाबुराम अर्यालले तिहारअघि नै अदालतबाट प्राप्त पत्र र संशोधित कैदीपुर्जीका आधारमा बिहीबार उनलाई रिहा गरिएको पुष्टि गरे। उनले भने, संशोधित कैदीपुर्जीअनुसार आज उहाँको छुट्नुपर्ने दिन हो।
रायमाझीलाई २०८० वैशाख २० गते पक्राउ गरिएको थियो। काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते उनलाई चार वर्ष कैद सजाय हुने फैसला गरेको थियो। ज्येष्ठ नागरिकलाई तोकिएको कैद सजायमा २५ प्रतिशत छुट दिने कानुनी व्यवस्थाअनुसार उनले उक्त सुविधा प्राप्त गरेका हुन्।