काठमाडौं ।नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
काठमाडौंबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटनामा परी १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको थापाले बताएका छन्।
सामाजिक सञ्जालमार्फत शोक वक्तव्य जारी गर्दै सभापति थापाले दुर्घटनामा ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद घडीमा शोकसन्तप्त परिवारलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।
उनले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।
बिहीबार बिहान करिब ६ः१० बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानी गढीमा सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको थियो।
दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। मृतकमध्ये दुई जनाको मात्र पहिचान खुलेको छ। अन्य मृतकको पहिचान खुलाउने प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ।
छठ पर्व मनाउन घर फर्किरहेका यात्रु दुर्घटनामा परेपछि सर्लाहीसहित विभिन्न क्षेत्रमा शोक छाएको छ।