ललितपुर – गृहमन्त्री सुधन गुरुङले आधुनिकीकरण र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि नेपालको मौलिक संस्कार, संस्कृति, परम्परा र सभ्यतालाई बिर्सन नहुने बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा सोमबार ललितपुरको पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा आयोजित कार्यक्रममा उनले नयाँ पुस्ताले पुर्खाबाट प्राप्त कला, संस्कृति र संस्कारलाई आत्मसात् गर्दै भावी पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।
उनले ललितपुरको कला, संस्कृति, वास्तुकला र ऐतिहासिक सम्पदाले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएको बताए । पुर्खाले संरक्षण गरेर राखेका सम्पदा र परम्पराकै कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको उनको भनाइ थियो ।
गृहमन्त्री गुरुङले नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । बाल्यकालमा घरमा नेवारी भाषा बोलिने गरेको स्मरण गर्दै उनले अहिले भाषा बोल्न बिर्सिए पनि आफ्नो सांस्कृतिक पहिचान र पारिवारिक संस्कारप्रति गर्व रहेको बताए ।
उनले सबै जातजाति र समुदायले आ–आफ्नो मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्ने बताए । अग्रज पुस्ताले नयाँ पुस्तालाई संस्कार सिकाएजस्तै अहिलेको पुस्ताले पनि भावी पुस्तालाई सांस्कृतिक विरासत हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो ।
तिहार र दीपावलीका परम्परागत सांस्कृतिक गतिविधि क्रमशः सीमित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै गृहमन्त्री गुरुङले सुरक्षा व्यवस्थाका कारण सांस्कृतिक अभ्यासमा अवरोध हुन नहुने बताए । घरघरमा गएर देउसी–भैलो खेल्ने तथा सामूहिक रूपमा पर्व मनाउने परम्परालाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए ।
सांस्कृतिक गतिविधि सञ्चालन गर्न सहज वातावरण बनाउने जिम्मेवारी सरकारको भएको उल्लेख गर्दै उनले २४ सै घण्टा सांस्कृतिक गतिविधि सञ्चालन गर्न सक्ने गरी निर्णय गरिएको जानकारी दिए ।
पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको उल्लेख गर्दै उनले ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही स्थानमा अनशन बसेको स्मरणसमेत गरे ।
कार्यक्रममा उनले नेपाल संवत् ११४७ को अवसरमा शुभकामना व्यक्त गर्दै देश र समाजका लागि अझ राम्रो काम गर्ने अवसर प्राप्त होस् भन्ने कामना गरे ।