काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुपस्थितिमा चालु आर्थिक वर्ष २०८३/८४ को बजेट बहुमतले पारित गरेको छ।
मंगलबार साँझ बसेको प्रदेशसभा बैठकले सरकारको बजेटसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो। प्रतिपक्षी दलहरूले बैठक बहिष्कार गरेपछि सत्तापक्षका सांसदहरूको समर्थनमा बजेट पारित भएको हो।
प्रदेशका आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले असोज २५ गते प्रदेशसभामा ३७ अर्ब ७० करोड ३९ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बजेटमा समावेश गरिएका योजनालाई लिएर विवाद उत्पन्न भएपछि कात्तिक २० गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ। नेकपा संसदीय दलको बैठकले तत्कालका लागि प्रस्तुत बजेट पारित गर्ने र छुटेका तथा विवादित योजनालाई पूरक बजेटमार्फत सम्बोधन गर्ने निर्णय गरेको थियो।
प्रदेशसभाको छलफलमा सहभागी पूर्वआर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले बजेटमा केही समस्या रहे पनि तत्कालका लागि पारित गर्ने सहमति भएको बताए।
त्यस्तै, नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा सांसदहरू रामेश्वर चौधरी र लक्ष्मी विकले बजेटमा केही त्रुटि रहेको औँल्याउँदै संसदीय अध्ययन समिति गठन गरेर पूरक बजेट ल्याउनुपर्नेमा जोड दिएका थिए।
सभामुख भीमबहादुर भण्डारीले सबै दलको प्रतिनिधित्व हुने गरी सात सदस्यीय अध्ययन समिति गठन गरिने जानकारी दिए। समितिले तयार पार्ने प्रतिवेदनका आधारमा कात्तिक २० गतेभित्र पूरक बजेट ल्याइने उनले बताए।
बजेट पारित भएको घोषणा हुँदा सत्तापक्षका सांसदहरूले ताली बजाएका थिए भने प्रतिपक्षी दलका सांसदहरूका लागि छुट्याइएको बेन्च खाली थियो।