काठमाडौँ– छठ पर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयमा छठ घाट निर्माण, सरसफाइ र व्यवस्थापनको काम तीव्र पारिएको छ ।
पछिल्ला वर्षमा काठमाडौँ उपत्यकामा छठ पर्व मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि विभिन्न १७ स्थानमा पर्व मनाउने तयारी गरिएको हो । गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत स्थानमा घाट निर्माण तथा व्यवस्थापनको काम भइरहेको छ ।
छठ पर्वमा व्रतालुले नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजा गर्ने परम्परा छ । चार दिनसम्म विभिन्न धार्मिक विधि र आस्थाका साथ मनाइने यस पर्वमा सूर्यदेवको उपासना गरिन्छ ।
गौरीघाटस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष अनिल सिंहका अनुसार गौरीघाटमा मात्रै ५५७ जना व्रतालुले पूजा गर्न सक्ने गरी घाट निर्माण भइरहेको छ । त्यहाँ पाल टाँग्ने, बत्तीको व्यवस्था गर्ने, नदी किनार सरसफाइ गर्ने र आवश्यक पूर्वाधार तयार पार्ने काम भइरहेको उनले बताए ।
उनले काठमाडौँमा पनि छठ पर्व मनाउने परम्परा विस्तार हुँदै गएको उल्लेख गर्दै तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार व्रतालुलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन व्यवस्थापन समितिले आवश्यक काम गरिरहेको छ ।
काठमाडौँमा छठ पर्व मनाइने प्रमुख स्थलमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु रहेका छन् । त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुको बाइसधारामा पनि छठ पूजा गर्ने गरिन्छ ।
काठमाडौँ महानगरपालिकाले विगतका वर्षमा कमलपोखरी, गौरीघाट, बोक्सीदह, बागमती दोभान, टङ्केश्वर, बल्खुस्थित कुमारी क्लब क्षेत्र, कुलेश्वर भलिबल ग्राउन्ड र रामघाटलाई छठ पूजाका प्रमुख स्थलका रूपमा व्यवस्थापन गर्दै आएको छ । बालाजु बाइसधारा र वंशीघाटलगायत क्षेत्रमा पनि घाट निर्माण तथा व्यवस्थापन गरिँदै आएको छ ।
यस वर्ष छठ पर्वअन्तर्गत कात्तिक २८ गते शनिबार खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।
विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा समेत विस्तार हुँदै गएको छ । यसले छठ पर्वप्रतिको धार्मिक आस्था र सांस्कृतिक सहभागिता देशभर बढ्दै गएको देखाउँछ ।