काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा क्षेत्रमा देखिएको प्रमुख समस्या राजनीतिक हस्तक्षेपभन्दा पनि दलीयकरण भएको बताएका छन्।
उनले विद्यालय व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म दलगत स्वार्थ हाबी हुँदा शिक्षाको गुणस्तर प्रभावित भएको धारणा व्यक्त गरेका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले शिक्षा क्षेत्रमा देखिएको दलीय प्रभाव अन्त्य गर्न आवश्यक रहेको बताए। उनका अनुसार विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक छनोट तथा शिक्षक व्यवस्थापनमा दलगत आग्रह राख्ने प्रवृत्तिले शिक्षा प्रणालीलाई कमजोर बनाएको छ।
उनले शिक्षामा हुने दलीयकरणलाई राजनीतिक गतिविधिसँग जोडेर हेर्न नहुने उल्लेख गर्दै यस्तो अभ्यासबाट बाहिर निस्कनुपर्ने आवश्यकता औँल्याए।
थापाले नेपाली काँग्रेससँग आबद्ध शिक्षकहरूले आफ्नो पेशागत जिम्मेवारीलाई प्राथमिकतामा राखेर विद्यालयमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले शिक्षण कार्यलाई इमानदारीपूर्वक सम्पादन गर्नु नै पार्टीप्रतिको सबैभन्दा ठुलो योगदान हुने धारणा व्यक्त गरे।
उनका अनुसार विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व प्रभावकारी रूपमा पूरा गर्न सके त्यसले समुन्नत नेपालको निर्माणमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ।