काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृतिको अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्। प्रत्येक नागरिकले सरकार आफ्नै लागि रहेको अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नु आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
समाजमा विद्यमान विकृति र विसङ्गति हटाउन इमानदार प्रयास, दृढ सङ्कल्प र सामूहिक मेहनत आवश्यक रहेको प्रधानमन्त्री शाहको भनाइ छ। उनले वास्तविक परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने बताएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीलाई असत्यमाथि सत्यको विजयका रूपमा व्याख्या गर्दै पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुर र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको प्रसङ्ग स्मरण गरेका छन्। मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्म र सत्यको मार्गमा अघि बढ्न प्रेरणा दिने उनले बताएका छन्।
दसैँमा टाढा रहेका आफन्त तथा मान्यजनसँग भेटघाट गर्ने परम्पराले पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै आपसी सद्भाव र आत्मीयता बढाउने विश्वास पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन्।
उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्दै सकारात्मक सोच, सद्भाव र सहकार्यलाई आत्मसात् गर्न प्रेरणा दिने बताएका छन्।