म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिका–७ स्थित ऐतिहासिक ताकमकोतमा बडादसैँको महानवमीका अवसरमा आयोजित परम्परागत ठेलो फाल्ने प्रतियोगितामा अशोक खत्रीले ११औँ पटक उपाधि जितेका छन्। प्रतियोगितामा सहभागी २२ जनालाई पछि पार्दै उनले कीर्तिमान बनाएका हुन्।
धवलागिरि गाउँपालिका–७ का वडाध्यक्षसमेत रहेका खत्रीले ८.५ किलोग्राम तौलको फलामको ठेलो सबैभन्दा टाढा फाल्दै ‘माल’को उपाधि जितेका हुन्। कोतपूजा व्यवस्थापन समितिका सदस्य दिनेश केसीका अनुसार खत्रीबाहेक अरू कसैले पनि हालसम्म ११ पटक यो उपाधि जितेका छैनन्।
खत्रीले २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका थिए। २०७८ मा प्रतियोगितामा सहभागी नभएका उनी २०७९ मा मालिका गाउँपालिका–१, निस्कोटका याम परियारसँग पराजित भएका थिए। त्यसपछि २०८० देखि यस वर्षसम्म लगातार उपाधि जित्दै उनले आफ्नो जित संख्या ११ पुर्याएका हुन्।
निरन्तरको अभ्यास, शारीरिक व्यायाम र स्वच्छ खानपानले सफलता दिलाएको खत्रीले बताए। उपाधि जितेपछि उनलाई धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनलगायतले फेटा गुथाएर सम्मान गरेका थिए। स्थानीयले खत्रीलाई काँधमा बोकेर बाजागाजासहित ताकमकोत परिक्रमा गराएका थिए।
ताकमकोतमा ठेलो फाल्ने प्रतियोगिता आठ सय वर्षअघिदेखि चल्दै आएको मानिन्छ। बाइसे–चौबिसे राज्यका पालामा बडादसैँको महानवमीका दिन ठेलो फालेर बलिया पहलमान पहिचान गर्ने परम्परा सुरु भएको स्थानीय इतिहास छ। त्यही परम्परालाई अहिले पनि निरन्तरता दिइँदै आएको छ।
ऐतिहासिक विवरणअनुसार १२४६ देखि १५४५ सम्म बगाले थापा र १५४६ देखि १८८२ सम्म मल्ल राजाले ताकमकोतबाट राज्य सञ्चालन गरेका थिए। प्रतियोगितामा विजयी हुनेलाई ‘माल’ अर्थात् पहलमान घोषणा गरी फेटा गुथाउने, काँधमा बोकेर गाउँ परिक्रमा गराउने र नगद पुरस्कार दिने चलन छ। गाउँपालिका अध्यक्ष पुनका अनुसार यस क्षेत्रका बलिया युवाका लागि ‘माल’ बन्नु पुर्खौंदेखिकै गौरव र प्रतिष्ठाको विषय हो।