काठमाडौँ । नेकपाका सहसंयोजक माधवकुमार नेपालले भावनात्मक आग्रह वा सार्वजनिक अभिव्यक्तिले मात्र कम्युनिस्ट शक्तिहरूबीच दिगो एकता सम्भव नहुने बताएका छन्।
जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कम्युनिस्ट आन्दोलनभित्र देखिएका विगतका कमजोरी र विचलनको गम्भीर समीक्षा सबै राजनीतिक घटकले आफ्नै तहबाट गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले कुनै एक दल मात्र नभई कम्युनिस्ट धारका सबै दलले आत्ममन्थन र आत्मसमीक्षामार्फत साझा निष्कर्षमा पुग्न सके मात्रै एकताको आधार तयार हुने धारणा राखे। त्यसका लागि भावनात्मक अपिलभन्दा व्यवहारिक तयारी र वैचारिक स्पष्टता आवश्यक हुने उनको भनाइ थियो।
माधव नेपालले कम्युनिस्ट नेता मदन भण्डारीको भनाइ स्मरण गर्दै केवल भाषण र प्रतिबद्धताले उद्देश्य पूरा नहुने उल्लेख गरे। एकता सफल बनाउन साझा समझदारी, यथार्थपरक दृष्टिकोण र निरन्तर संवाद अपरिहार्य रहेको उनको तर्क थियो।
उनले वर्तमान राजनीतिक परिस्थितिमा मिल्न सकिने साझा एजेन्डामा केन्द्रित भएर व्यापक छलफल र सहमतिको प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता पनि औँल्याए।
साथै, निकट भविष्यमै कम्युनिस्ट दलहरूबीच एकता हुने सम्भावना आफूले नदेखेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक राजनीतिक वातावरण र विश्वासको आधार अझै निर्माण हुन बाँकी रहेको धारणा व्यक्त गरे।