काठमाडौं । १८ वर्षमुनिका बालबालिकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।
आइतबार प्रतिनिधिसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरू उठे । सभामुखले समय दिएपछि कांग्रेसको तर्फबाट बोल्दै सांसद रेनुका काउचाले संविधान र ऐनले बालबालिकालाई पार्टी सदस्य बन्न नदिने बताइन् ।
‘रास्वपाको सदस्यता लिनेको फेहरिस्त हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार हजार २५७ हुनुहुँदो रहेछ । औपचारिक रुवपमा नै घोषणा गरिएको यो सवालप्रति कांग्रेसको ध्यान गएको छ’ उनले भनिन् ।
‘रास्वपा संविधानभन्दा माथि छ ?’, उनले प्रश्न गरिन् ।
कानुनत: कुनैपनि राजनीतिक दलको सदस्य बन्न १८ वर्ष उमेर पूरा भएको हुनुपर्छ । यस्तो व्यवस्था राजनीतिक दल सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ मा नै छ । तर, यो ऐनको व्यवस्थाभन्दा फरक रास्वपाले आफ्नो महाधिवेशनमा करिब ३५ हजार बालबालिकालाई आफ्नो सदस्यको सूचीमा राखेको विवरण बाहिरिएपछि प्रश्न उठेको हो ।
राजनीतिक दलसम्बन्धी ऐनमा दलको सदस्यता तथा संगठनात्मक संरचनासम्बन्धी व्यवस्था छ । दफा १४ मा सदस्यताको योग्यताको विषय छ । जसअनुसार नेपाली नागरिकले मात्रै नेपालको राजनीतिक दलको सदस्यता लिन पाउँछन् । साथै अठार वर्ष उमेर पूरा भएको हुनुपर्ने बाध्यकारी व्यवस्था छ ।
यस्तो कानुनी व्यवस्था विपरीत रास्वपाले बालबालिकालाई समेत सदस्यता दिएको भनेर संसद्मै प्रश्न उठेको हो ।
चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । उक्त प्रतिवेदनअनुसार १८ वर्षमुनिका ३५ हजार २५७ जना बालबालिकाले रास्वपाको सदस्यता लिएका छन् ।
रास्वपाको कूल सदस्य संख्या ५ लाख २३ हजार ४६५ छ । यसमध्ये ६.७ प्रतिशत सदस्य १८ वर्ष मुनिका बालबालिका छन् ।
राजनीतिक दलसम्बन्धी ऐनमा मात्र होइन । बालबालिका सम्बन्धी ऐन २०७५ ले पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न बन्देज लगाएको छ ।
बालबालिका सम्बन्धी ऐन २०७५ अनुसार १८ वर्ष उमेर पूरा नगरेका प्रत्येक व्यक्तिलाई बालबालिका भनिन्छ । यस्तो परिभाषा उक्त ऐनको दफा २ को (ञ) मा छ ।
बालबालिका सम्बन्धी ऐनको दफा ७ को उपदफा ७ मा कुनै पनि बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नपाइने प्रावधान छ । जहाँ भनिएको छ, ‘कुनै पनि बालबालिकालाई सेना, प्रहरी र सशस्त्र समूहमा भर्ना गर्न र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सशस्त्र द्वन्द्व वा राजनीतिक उद्देश्यको लागि प्रयोग गर्न पाइने छैन ।’
तर रास्वपाले १८ वर्षमुनिका बालबालिकालाई समेत पार्टी सदस्य बनाएको भनेर प्रश्न उठेको हो । यो विषयमा रास्वपाका नेताहरूले भने प्रतिक्रिया दिएका छैनन् ।