काठमाडौँ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कात्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार मनाइँदैछ। यमराजको दूतका रूपमा मानिने कागलाई पूजा आराधना गरी मीठा खानेकुरा खान दिएर यो पर्व मनाउने परम्परा छ।
सूर्योदयकालमा त्रयोदशी तिथि परेका दिन काग तिहार मनाउनुपर्ने धार्मिक मान्यताअनुसार यस वर्ष शनिबारलाई पर्व मनाउने दिन निर्धारण गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईले जानकारी दिएका छन्।
धार्मिक मान्यताअनुसार यमराजले पृथ्वी लोकको खबर कागमार्फत प्राप्त गर्ने भएकाले कागलाई यमदूतका रूपमा पूजा गर्ने गरिन्छ। यमराजसमक्ष शुभ समाचार पुर्याओस् भन्ने कामनासहित आज कागलाई मीठा परिकार तथा विभिन्न खानेकुरा दिएर खुसी पार्ने चलन छ।
लोकपरम्पराअनुसार काग घरआँगनमा आएर कराएमा शुभ समाचार ल्याएको विश्वास गरिन्छ। त्यसैले काग कराउँदा ‘शुभ बोल, शुभ बोल’ भन्ने प्रचलनसमेत रहेको छ।
काग तिहारका अवसरमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिरमा विशेष पूजा आराधना गरिन्छ। त्यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको पूजा गर्ने परम्परा छ।
तिहार पर्व दुष्कर्म गर्नेलाई यमराजले दण्ड दिने र सत्कर्म गर्नेलाई धर्मराजका रूपमा रक्षा गर्ने धार्मिक विश्वाससँग जोडिएको छ। यमराजको यातनाबाट मुक्ति मिल्ने विश्वासमा परिवारका सदस्यका नाममा यमदीपदान गर्ने कार्य भने शुक्रबार साँझदेखि नै सुरु भएको छ। वैदिक सनातन शास्त्रीय विधिअनुसार यमदीप दक्षिण दिशातर्फ फर्काएर दान गर्ने चलन छ।
यस वर्ष तिथिको घटबढका कारण यमपञ्चक शुक्रबार साँझदेखि नै सुरु भएको हो। कात्तिक कृष्ण त्रयोदशीको सायंकालमा यमपञ्चक सुरु हुने भएकाले शुक्रबार धनतेरस पर्वसमेत मनाइएको थियो।
धनतेरसका दिन सुनचाँदीका गरगहना तथा तामालगायत धातुका भाँडाकुँडा खरिद गर्दा घरमा लक्ष्मीको स्थायी बास हुने धार्मिक विश्वास रहिआएको छ।