काभ्रे । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुलीस्थित बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। उक्त खण्डसँगै राजमार्गका अन्य तीन खण्डमा पनि पुनःनिर्माणको काम तीव्र पारिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँमा सम्झौता भएको हो। डिभिजन सडक कार्यालयका प्रमुख सुमन योगेशले जाइकाले हालै निर्माण कार्य सुरु गरेको जानकारी दिए।
यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको सडकखण्डमा पुनःनिर्माणको काम ५२ प्रतिशत सम्पन्न भएको छ। योगेशका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्मको ८.५ किलोमिटर सडक निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ जेठ मसान्तसम्म काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।
त्यसैगरी, चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११.८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी काम अघि बढाएको छ। पिप्लेदेखि डालाबेँशीसम्मको २.३ किलोमिटर सडक पुनःनिर्माणको जिम्मा पाएको उमा एन्ड कम्पनी–भण्डारी जेभीले २०८४ कात्तिक २६ गतेसम्म काम सक्ने लक्ष्य राखेको छ।
‘बीपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्यअनुसार नै भइरहेको छ,’ योगेशले भने।
२०८१ साल असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेपलाञ्चोकस्थित नमोबुद्धको दाप्चाखोला १ नम्बर पुलदेखि सिन्धुलीको नेपालथोकसम्मको २९ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त बनाएको थियो। क्षतिग्रस्तमध्ये काभ्रेपलाञ्चोकतर्फको २५.११ किलोमिटर सडक तीन खण्डमा विभाजन गरी पुनःनिर्माण भइरहेको छ।
आगामी वर्षायाम सुरु हुनुअघि नै निर्माणाधीन तीनवटै खण्डमा एक तह कालोपत्र गर्ने तयारी गरिएको योगेशले बताए। उनका अनुसार बाढीबाट क्षतिग्रस्त सडकलाई ‘डेडिकेटेड डबल लेन’का रूपमा पुनःनिर्माण गरिँदै छ।
पुनःनिर्माणका लागि पिप्लेदेखि डालाबेँशीसम्मको सडकमा उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीसँग ६८ करोड ८० लाख रुपैयाँ, डालाबेँशीदेखि चारसयबेँशीसम्म लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब ४२ करोड रुपैयाँ र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्म खानी–एवान–कमलजीत जेभीसँग एक अर्ब ३३ करोड रुपैयाँमा सम्झौता गरिएको छ।
यसैबीच, बीपी राजमार्गमा हाल पुनःनिर्माण गरिएका सडकबाटै सवारीसाधन सञ्चालन भइरहेका छन्। केही स्थान साँघुरा भएकाले डाइभर्सन निर्माण गरी दुईतर्फी आवागमनको व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ।
चौकीडाँडा र पिन्थली क्षेत्रमा भिरालो भूभाग भएकाले सडक मर्मत तथा डाइभर्सन निर्माणको काम भइरहेको छ। डालाबेँशी–पिप्ले खण्डमा पनि यस्तै व्यवस्था गरिएको योगेशले बताए।
पुनःनिर्माण गरिएका सडकबाट सवारी आवागमन भइरहेको र हालसम्म जामको समस्या नरहेको उनको भनाइ छ। वर्षाका कारण सडक माथिबाट लेदो तथा पहिरो खसेर यातायात अवरुद्ध भएमा आधादेखि केही घण्टाभित्रै सडक खुलाउन आवश्यक सामग्रीको व्यवस्थापन गरिएको उनले जानकारी दिए।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्गका रूपमा बीपी राजमार्गलाई लिइन्छ। क्षतिग्रस्त सडक पुनःनिर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको थियो। यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन खण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ।
योगेशका अनुसार राजमार्गका पाँचवटा पुललाई दुई लेनमा विस्तार गर्ने योजना छ। त्यस्तै, तीनवटै सडकखण्डमा ६.३ किलोमिटर आरसीसी पर्खाल निर्माण गरिनेछ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल–सिन्धुली–बर्दिबास जोड्ने १६० किलोमिटर लामो बीपी राजमार्ग निर्माण सुरु गरिएको थियो। विभिन्न खण्डमा विभाजन गरी निर्माण सम्पन्न गरिएको उक्त राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।