काठमाडौँ – सरकार र अनसनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।
सरकारसँग पटकपटक भएको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिपत्रमा हस्ताक्षर गर्दै डा. केसीको अनसन तोडाएका हुन्।
अनसन अन्त्य भएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनसन हुने बताएका छन्। उनले सहमतिमा उल्लेख गरिएका विषय कार्यान्वयनका लागि सरकारले आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
‘यो डा. केसीको अन्तिम अनसन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने।
डा. केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।

