काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक रात्रिबसमा महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा तीन जना युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रिबसमा यात्रा गरिरहेकी एक महिलामाथि तीन युवकले हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका थिए ।
घटनाबारे पीडित महिलाले प्रहरीलाई सूचना दिएर उजुरी गरेपछि प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटैनाका २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका–३, तिलकेनीका २१ वर्षीय जिवन बम रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिएका छन् ।