भोजपुर । आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण लोप हुने अवस्थामा पुगेको पुर्ख्यौली ‘फेरी’ लगाउने परम्परालाई भोजपुरका अर्जुन जोगीले निरन्तरता दिँदै आएका छन् ।
भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी जोगी विगत दुई दशकदेखि आफ्नो पुर्ख्यौली पेसाको संरक्षणमा सक्रिय छन् । उनी हरेक वर्ष कात्तिक, चैत र साउन महिनामा गाउँघर डुल्दै रातको समयमा फेरी लगाउने गर्छन् । एक महिनामा करिब २० देखि २५ दिनसम्म गाउँबस्ती पुगेर फेरी लगाउने गरेको उनले बताए ।
परम्परागत मान्यताअनुसार फेरी लगाउँदा गाउँघरमा सुख, शान्ति, समृद्धि र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । जोगीहरू रातको समयमा घरघरमा पुगेर मन्त्र उच्चारण गर्दै परम्परागत विधिअनुसार फेरी लगाउने गर्छन् । स्थानीयवासीले यसलाई धार्मिक आस्था र मौलिक सांस्कृतिक परम्पराका रूपमा लिने गरेका छन् ।
फेरी लगाउन घरघर पुग्ने जोगीलाई स्थानीयले आफ्नो गच्छेअनुसार चामल, धान, मकै, कोदो, नगदलगायत अन्नपात दिने चलन छ । यसबाट फेरी लगाउने व्यक्तिको जीविकोपार्जनमा समेत सहयोग पुग्दै आएको छ ।
जोगीका अनुसार कुनै समय याङपाङमा १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए । तर, पछिल्लो समय नयाँ पुस्ताको यसप्रति आकर्षण घट्दै जाँदा अहिले यो पेसा गर्नेको सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ ।
पुर्खादेखि चल्दै आएको परम्परागत पेसा र मौलिक संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तासम्म यसको महत्व पुर्याउने उद्देश्यले आफूले निरन्तरता दिइरहेको जोगीको भनाइ छ ।
आधुनिकता र बदलिँदो जीवनशैलीका कारण पुराना पेसा तथा संस्कृतिहरू हराउँदै गएको अवस्थामा फेरी लगाउने परम्पराको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यस्तो अवस्थामा नयाँ पुस्तालाई यस परम्पराको धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बुझाउन सके मात्रै यसको निरन्तरता सम्भव हुने देखिन्छ ।