सुनसरी– तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न थालेको छ। विशेषगरी देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्ने भएकाले तिहारको समयमा यसको माग बढ्ने गरेको व्यापारीले बताएका छन्।
आधुनिक प्रविधिको विकाससँगै गीतसङ्गीत तथा सांस्कृतिक कार्यक्रममा डिजिटल साउन्ड सिस्टमको प्रयोग बढ्दै गए पनि देउसीभैलोमा मादलको लोकप्रियता भने कायमै छ। तिहारमा देउसीभैलो खेल्ने समूहले परम्परागत बाजाका रूपमा मादललाई प्राथमिकता दिने गरेका छन्।
धरान उपमहानगरपालिका–२ छाताचोकस्थित साल्सा म्युजिक स्टोरका सञ्चालक सुमन चौधरीले तिहार नजिकिएसँगै मादलको बिक्री उल्लेख्य रूपमा बढेको बताए।
विगत २० वर्षदेखि मादल, गितारलगायत विभिन्न बाजाको व्यापार गर्दै आएका चौधरीका अनुसार तिहारको समयमा दैनिक ७० देखि ८० वटासम्म मादल बिक्री हुने गरेको छ। सामान्य अवस्थामा भने दैनिक पाँचदेखि १० वटासम्म मात्र बिक्री हुने गरेको उनले बताए।
चौधरीले भोजपुर, खाँदबारी, चैनपुर, धनकुटा, हिले, सिदुवा, उदयपुर, रामपुर र बेलटारलगायत स्थानमा मादल पठाउँदै आएका छन्। उनको पसलमा तीन हजारदेखि आठ हजार रुपैयाँसम्मका मादल उपलब्ध छन्।
पहिले अन्य स्थानबाट मादल खरिद गरेर बिक्री गर्दै आएका चौधरीले अहिले आफ्नै कारखानामा मादल उत्पादन गर्ने गरेका छन्। आफ्नै कारखाना सञ्चालनमा रहेकाले ग्राहकको मागअनुसार आकार र गुणस्तरका मादल बनाउन सहज भएको उनको भनाइ छ। उनको पसल तथा कारखानामा छ जनाले रोजगारी पाएका छन् भने परिवारका सदस्यले समेत व्यवसायमा सहयोग गर्दै आएका छन्।
यसैगरी, धरानको मुख्य बजार भानुचोकदेखि पूर्वतर्फ रहेको देसी लाइनमा मादलको व्यापार गर्दै आएका यदुनाथ अधिकारीले पनि तिहार नजिकिएसँगै बिक्री बढेको बताए।
१५ वर्षदेखि परिवारका सदस्यसँग मिलेर मादल र खुकुरीको व्यापार गर्दै आएका अधिकारीको पसलमा दुई हजारदेखि सात हजार रुपैयाँसम्मका मादल बिक्रीका लागि राखिएका छन्।
उनका अनुसार तिहारमा देउसीभैलो खेल्ने समूहले मादल खरिद गर्ने भएकाले यसको माग बढ्ने गरेको छ। विशेषगरी लक्ष्मीपूजादेखि मादलको बिक्री अझ बढ्ने गरेको उनले बताए। कहिलेकाहीँ एकै दिन आठदेखि १० वटासम्म मादल बिक्री हुने गरेको उनको भनाइ छ।
भोजपुर, धनकुटा तथा पश्चिम नेपालमा उत्पादित मादल खरिद गरेर बिक्री गर्दै आएका अधिकारीले ग्राहकको आर्थिक अवस्था र आवश्यकताअनुसार विभिन्न मूल्य तथा गुणस्तरका मादल राख्ने गरेको बताए। देउसीभैलो खेल्ने समूहले केही समयका लागि प्रयोग गर्न सस्तो मादलसमेत खोज्ने भएकाले महँगा मादल मात्र बिक्रीका लागि नराखिएको उनले स्पष्ट पारे।
त्यस्तै, इटहरी उपमहानगरपालिका–६ का भेषराज अधिकारी पनि विगत नौ वर्षदेखि मादल र खुकुरीको व्यापारमा संलग्न छन्। उनका अनुसार तिहारको समयमा मादलको बिक्री उल्लेख्य रूपमा बढ्ने गरेको छ। तिहारका बेला एक लाखदेखि डेढ लाख रुपैयाँसम्मको मादल बिक्री हुने गरेको उनले जानकारी दिए।
तिहारमा देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले नेपाली मौलिक बाजा मादलको संरक्षणसँगै यसको व्यापारलाई समेत निरन्तरता दिँदै आएको छ। आधुनिक बाजा र प्रविधिको प्रयोग बढ्दै गए पनि चाडपर्वका अवसरमा मादलप्रतिको आकर्षण घटेको छैन।