काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेललाई मात्र नभई समग्र काठमाडौँलाई २४ घण्टा सञ्चालन गर्ने विषयमा अध्ययन अघि बढाएको जनाएको छ।
ठमेल पर्यटन विकास परिषद्ले शुक्रबार आयोजना गरेको शान्ति सुरक्षा सम्बन्धी छलफल तथा अन्तर्क्रियामा प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पौडेलले यस विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए।
उनले ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै गैरकानुनी गतिविधि नियन्त्रणका लागि घरधनी तथा व्यवसायीको सहयोग आवश्यक रहेको बताए। ठमेलका समस्या र चुनौतीबारे छलफल गरी समाधान खोज्न जिल्ला प्रशासन कार्यालयमा मासिक बैठक गर्ने प्रस्तावसमेत उनले राखे।
काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सार्वजनिक शौचालयको अभाव, अव्यवस्थित पार्किङ, फोहोर व्यवस्थापन, ट्राफिक जाम तथा मगन्तेलगायत समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताए।
त्यस्तै, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले स्थानीय र व्यवसायी ठमेललाई सवारीसाधन निषेधित क्षेत्र बनाउन तयार भए ट्राफिक प्रहरीले आवश्यक सहयोग गर्ने बताए। उनले जथाभावी पार्किङ गर्ने सवारीसाधनमाथि कारबाही गरिने पनि स्पष्ट पारे।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले ठमेललाई सुरक्षित र व्यवस्थित बनाउन घरधनी तथा व्यवसायीको सक्रिय सहयोग अपरिहार्य रहेको बताए।
परिषद्का पूर्वअध्यक्ष भविश्वर शर्माले २०८१ वैशाख १ गतेदेखि लागू गरिएको ठमेललाई २४ घण्टा सञ्चालन गर्ने आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
छलफलका क्रममा घरधनी तथा व्यवसायीले रातिको समयमा आवतजावतमा हुने कठिनाइ, लागुऔषध कारोबार तथा सेवन, फोहोर व्यवस्थापन, अव्यवस्थित पार्किङ र ढल निकासको समस्याले सातघुम्ती क्षेत्रमा पानी जम्ने गरेको विषय उठाएका थिए।
परिषद्का अध्यक्ष राजुमान डङ्गोलले ठमेलको पर्यटन विकास र व्यवस्थापनका लागि सरकारी निकाय, स्थानीय, घरधनी तथा व्यवसायीबीच सहकार्य आवश्यक रहेको बताए।
विसं २०४८ मा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्ले यस क्षेत्रको पर्यटन प्रवर्द्धन तथा विकासमा काम गर्दै आएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए।