काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार(भोलि)का लागि इतर समूहको बैठक बोलाएका छन् । दिउँसो २ बजे गल्फुटारस्थित खड्काको निवासमा बैठक बस्ने तयारी छ ।
बैठकमा इतर पक्षको राष्ट्रिय भेलाको मितिबारे छलफल हुने स्रोतले बतायो । यसअघि इतर पक्षले सात वटै प्रदेशमा प्रदेश स्तरीय भेला गरिसकेको छ । सोही क्रममा असार १६ गते लुम्बिनी प्रदेशको भेला गरिएको थियो ।
खड्का निवासको बैठकमा खड्काबाहेकका कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखक लगायतका नेता सहभागी हुने बताइएको छ ।
बिहीबार मात्रै नेता निधिको निवासमा निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो । उक्त छलफलमा राष्ट्रिय भेलाबारे पनि छलफल भएको उनीहरू निकाट स्रोतले बतायो ।