काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितीमा दैनिक कामकाजका लागि उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेसँगै सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री ओलीपछिको वरीयतामा रहेका सिंहले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।
प्रशासनिक कार्य नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री सिंहले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो । प्रधानमन्त्री ओलीसहित पत्नी राधिकार शाक्य,प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल लगायत अमेरिका उडेका छन् ।
प्रधानमन्त्री ओली अमेरिकाबाट असोज १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।