काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा व्यवसाय सञ्चालनका नाममा पर्यटकलाई ठगी गर्ने २२ जनामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही प्रक्रिया अघि बढाएको छ ।
जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, पर्यटक प्रहरी, नगर प्रहरी र ठमेल पर्यटन विकास परिषद्को संयुक्त टोलीले गएराति गरेको अनुगमनका क्रममा विभिन्न अनियमिततामा संलग्न २२ जनालाई कारबाही गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी खेमराज भुसालका अनुसार ठूलो आवाजमा सङ्गीत बजाएर सञ्चालन गरिएका रेस्टुरेन्ट तथा बार, दर्ताविनै सञ्चालित स्पा, अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायी र पर्यटक ठगीमा संलग्न डान्सबार सञ्चालकलाई कारबाही गरिएको हो ।
गत शुक्रबारको अनुगमनमा पहिचान भएका रेस्टुरेन्ट तथा बार सञ्चालकलाई पत्राचार गरी प्रशासन कार्यालयमा उपस्थित हुन बोलाइएको थियो । उनीहरूलाई आगामी एक साताभित्र कानुनअनुसार व्यवसाय सञ्चालन गर्न, ध्वनि प्रदूषण नियन्त्रण गर्न र आवश्यक मापदण्ड पूरा गर्न निर्देशन दिइएको छ ।
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष राजुमान डङ्गोलका अनुसार दर्ताविना सञ्चालन भइरहेका स्पा तथा बारलाई पनि एक साताभित्र सम्बन्धित निकायमा दर्ता गरी कानुनी प्रक्रिया पूरा गर्न भनिएको छ ।
ठमेललाई २४ सै घण्टा सञ्चालन गर्ने सम्बन्धी आचारसंहिता तथा सुरक्षा व्यवस्थापन मापदण्ड, २०८० कार्यान्वयन गर्ने उद्देश्यले प्रशासनले अनुगमनलाई तीव्रता दिएको हो । उक्त मापदण्ड तत्कालीन परिषद् अध्यक्ष भविश्वर शर्माको नेतृत्वमा तयार भई जिल्ला सुरक्षा समिति काठमाडौंको स्वीकृतिमा लागू भएको थियो ।
अनुगमनका क्रममा अन्तःशुल्क दर्ता नगरी मदिरा बिक्री गर्ने व्यवसायीको मदिरा तथा अन्य सामान जफत गरिएको छ । उनीहरूलाई एक साताभित्र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिइएको छ ।
त्यस्तै, सडकमा मदिरा सेवन गरी होहल्ला गर्ने केही व्यक्तिलाई सम्झाइबुझाइ छाडिएको छ भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको परिषद्का महासचिव पशुपति कँडेलले जानकारी दिए ।
रातको समयमा ठूलो आवाज निकाल्ने गरी स्वरूप परिवर्तन गरिएका मोटरसाइकल चलाउने चालकलाई समेत नियन्त्रणमा लिएर कारबाही गरिएको छ । सडकपेटीमा चिया तथा चुरोट बिक्री गर्ने बहानामा अनैतिक गतिविधि सञ्चालन गर्नेहरूलाई नगर प्रहरीले हटाएको छ ।
डान्सबार तथा अन्य मनोरञ्जन व्यवसायका नाममा विशेषगरी भारतीय पर्यटक तथा पाहुनालाई ठगी गर्ने र कुटपिटमा संलग्न व्यक्तिमाथि पनि कारबाही प्रक्रिया अघि बढाइएको महासचिव कँडेलले बताए ।
अनुगमनका क्रममा ठगीमा परेका विदेशी पर्यटकको रकमसमेत फिर्ता गराइएको छ । व्यवसाय सञ्चालनका नाममा पर्यटकसँग अनावश्यक रूपमा अत्यधिक रकम असुल्ने प्रवृत्ति नियन्त्रण गर्न प्रशासनले निगरानी र अनुगमनलाई थप प्रभावकारी बनाउने जनाएको छ ।