काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीति सत्ता केन्द्रित हुँदा गत वर्ष भदौमा जेनजी आन्दोलन भएको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै थापाले २०७२ सालपछि नेपालको राजनीति पूर्ण रूपमा सत्ता केन्द्रित बनेको र त्यसकै परिणामस्वरूप गत वर्ष भदौ २३ र २४ गतेका घटना भएको बताएका हुन्।
उनले पछिल्लो १० वर्षमा सरकारले जनतालाई दिनुपर्ने सेवा र सुविधा प्रभावकारी रूपमा उपलब्ध गराउन नसकेको पनि बताए। जनसाङ्ख्यिक परिवर्तन, बसोबासको स्वरूप, अर्थतन्त्रमा आएको बदलाव र विश्वमा विकसित नयाँ प्रविधि तथा माध्यमअनुसार राज्यले सेवा प्रवाह गर्नुपर्ने भए पनि त्यसमा चुकेको उनको भनाइ थियो।
थापाले भदौ २३ गते भएको दमन र २४ गते भएको आपराधिक घटनालाई सामान्य रूपमा लिन नहुने बताए। कांग्रेसले महाधिवेशनबाटै ती घटनालाई गम्भीर रूपमा लिँदै छानबिन हुनुपर्ने निष्कर्ष निकालेको उनले स्पष्ट पारे।
‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएका घटनालाई अन्डरमाइन्ड गर्न हुँदैन भन्ने निष्कर्ष निकालेका छौँ। छानबिन गर्नुपर्छ,’ थापाले भने।