काठमाडौं। नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चार केन्द्रमा सबै रक्तसमूहका रक्तघटकको मौज्दात सकिएको जनाउँदै सर्वसाधारणलाई रक्तदान गर्न आह्वान गरेको छ। अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै गएको र मौज्दात घटेपछि रगत व्यवस्थापनमा कठिनाइ भएको सोसाइटीले जनाएको छ।
बडादशैँको लामो बिदाका कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको तथा अस्पतालमा रगतको माग बढ्दै गएकाले अभाव भएको नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाले जनाएको हो।
केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहका होल ब्लड र प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) लगायत रक्तघटकको मौज्दात सकिएको छ। उनले रक्तदान गरेको तीन महिना पूरा भएका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदान गर्न आग्रह गरे।
यसैबीच, असन सेवा समितिले बुधबार असन टोल र सुन्धारामा रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा काठमाडौं महानगरपालिकाको विशेष सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय बासिन्दाले रक्तदान गरेका थिए। रक्तदान गर्ने सहभागीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको समितिले जनाएको छ।
नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानमा रहेका रक्तसञ्चार सेवा केन्द्र तथा एकाइमार्फत सेवा दिँदै आएको छ। रगत आवश्यक परेमा वा रक्तदानसम्बन्धी जानकारी लिन केन्द्रीय रक्तसञ्चार सेवाका फोन नम्बर ०१–५३८८४८५ र ०१–५३८८४८६ मा सम्पर्क गर्न सकिने सोसाइटीले जनाएको छ। त्यस्तै, निःशुल्क हटलाइन नम्बर ११३० मा पनि सम्पर्क गर्न सकिनेछ।