नवलपुर । चार लेनमा विस्तार गरिएको नारायणगढ–बुटवल सडकखण्डको बीचमा रहेको डिभाइडरमा दुबो रोप्ने काम सुरु गरिएको छ । ११३ किलोमिटर लामो सडकको तीन मिटर चौडा डिभाइडरमा दुबो रोप्ने कामलाई तीव्रता दिइएको हो ।
नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार गैँडाकोट, देवचुली, कावासोतीलगायत विभिन्न स्थानमा डिभाइडरमा दुबो रोप्ने काम भइरहेको छ ।
सडक विस्तारअन्तर्गत कालोपत्र गर्ने मुख्य काम लगभग सम्पन्न भइसकेको छ । अहिले सडक किनारका सर्भिस लेन निर्माण, डिभाइडरमा रङरोगन, दुबो रोप्ने तथा सडकको सौन्दर्य बढाउने बिरुवा लगाउने काम भइरहेको खनालले बताए ।
विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले नवलपुरको गैँडाकोटमा शिलान्यास गरेको पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्ड करिब ६५ वर्षपछि चार लेनमा विस्तार भएको हो । सडक विस्तारका लागि २०७५ माघमा ठेक्का सम्झौता भएको थियो भने सोही वर्ष चैतमा निर्माण कार्यको शिलान्यास गरिएको थियो । सुरुमा ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
तर, विभिन्न कारणले चार पटक म्याद थप भएपछि करिब आठ वर्ष लगाएर गत साउनमा सडक विस्तारको काम सम्पन्न भएको खनालले जानकारी दिए ।
उनका अनुसार सडकको मुख्य काम सम्पन्न भएपछि गत साउनमै आयोजनाले सडक टेकओभर गरिसकेको छ । यद्यपि, सडक औपचारिक रूपमा हस्तान्तरण हुन बाँकी छ । टेकओभरपछि पाँच वर्षसम्म निर्माण कम्पनीले सडकमा देखिने त्रुटि तथा कमजोरी सच्याउनुपर्ने व्यवस्था छ । त्यसपछि मात्रै सडक औपचारिक रूपमा हस्तान्तरण हुनेछ ।
हाल सडकमा देखिएका त्रुटि सुधार, पैदलयात्रीका लागि पेटी निर्माण, सडक किनारमा रेलिङ राख्ने तथा ढलानलगायतका काम भइरहेका छन् ।
नारायणगढ–बुटवल सडकलाई गैँडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर पूर्वी खण्ड र दाउन्नेदेखि बुटवलसम्म ४८ किलोमिटर पश्चिम खण्डमा विभाजन गरी निर्माण गरिएको हो । दुवै खण्डको ठेक्का अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो ।
सडक विस्तारमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ । कुल लागतको ८५ प्रतिशत रकम एसियाली विकास बैंक (एडीबी)ले १.५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराएको हो ।
कुल ११३ किलोमिटर सडकखण्डमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटर छ लेन र दाउन्नेको १४ किलोमिटर क्षेत्रमा तीन लेन सडक निर्माण गरिएको छ । भौगोलिक अवस्था, बजार क्षेत्र र यातायातको चापलाई ध्यानमा राखेर फरक–फरक डिजाइनमा सडक विस्तार गरिएको आयोजनाले जनाएको छ ।
ग्रामीण तथा वन क्षेत्रमा चार लेन, सहरी क्षेत्रमा छ लेन र दाउन्नेको भौगोलिक रूपमा कठिन क्षेत्रमा तीन लेन सडक बनाइएको हो । सडकमा लेन मार्किङ, ट्राफिक सङ्केत, गति सीमा सङ्केत तथा सवारीसाधनको गति निगरानीका लागि स्पिड गन प्रयोग गर्ने व्यवस्था पनि गरिएको छ ।
सडक विस्तारपछि सवारीसाधनको गति बढ्न सक्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि गति सीमा निर्धारण गरिएको खनालले बताए । उनका अनुसार सिधा तथा खुला सडकमा अधिकतम ८० किलोमिटर, बजार क्षेत्र तथा क्रसिङमा करिब ६० किलोमिटर र जङ्गली क्षेत्र तथा दाउन्नेको पहाडी खण्डमा अधिकतम ४० किलोमिटर प्रतिघण्टाको गति सीमा तोकिएको छ ।
दाउन्ने क्षेत्रमा पटकपटक कालोपत्र गर्दा सडक बिग्रिने र भासिने समस्या देखिएपछि करिब ११ किलोमिटर सडक सिमेन्ट कङ्क्रिटबाट निर्माण गरिएको छ । सडक विस्तारका क्रममा गैँडाकोटदेखि बुटवलसम्म ४९ हजार ८३० वटा रुख काटिएका थिए ।
यस सडकखण्डमा २१ वटा ठूला पुल, ४३ वटा साना पुल र पानी निकासका लागि ४६ वटा कल्भर्टसमेत निर्माण गरिएको छ । साना पुल तथा कल्भर्ट चार लेनमा निर्माण गरिएका छन् भने ठूला पुल पुराना पुलको दक्षिणतर्फ दुई लेनमा बनाइएको छ । पुराना पुलको अवस्था र प्राविधिक आवश्यकताअनुसार स्तरोन्नति तथा प्रतिस्थापन गरिएको खनालले बताए ।