कञ्चनपुर । महाकाली नदीमा आएको बाढीले क्षति पुर्याएपछि पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुंगे पुल मर्मत तथा पुनर्निर्माणका लागि रु पाँच करोड बजेट माग गरिएको छ।
गत असोज १४ गते महाकाली नदीमा आएको बाढीले पुलको एउटा स्तम्भ भत्काएपछि पुलमा आवागमन पूर्ण रूपमा बन्द छ। भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने ऐतिहासिक पुल पुनर्निर्माणका लागि पहिलो चरणमा पूर्वाधार विकास मन्त्रालयसँग पाँच करोड रुपैयाँ माग गरिएको सस्पेन्सन ब्रिज डिभिजनका योजना प्रमुख शङ्कर बुढाथोकीले जानकारी दिए।
उनका अनुसार भत्किएको स्तम्भ वरपर अझै नदी बगिरहेकाले माटो परीक्षणलगायत प्राविधिक काम अघि बढाउन कठिनाइ भएको छ। विस्तृत लागत प्रतिवेदन तयार भएपछि पुनर्निर्माणको ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए।
पुलमा भएको क्षतिको अध्ययन गर्न सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा दुई सदस्यीय प्राविधिक टोली कञ्चनपुर पुगेको थियो। टोलीले पुलमा करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको र पुनर्निर्माण गरी सञ्चालनमा ल्याउन करिब २० करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरेको थियो।
प्राविधिक टोलीले भत्किएको स्तम्भसँगै पुलको दायाँ र बायाँतर्फ रहेका थप दुई स्तम्भसमेत कमजोर अवस्थामा रहेको निष्कर्ष निकालेको छ।
यसैबीच, सुदूरपश्चिम प्रदेश सरकारले पनि दोधारा चाँदनी झोलुंगे पुल पुनर्निर्माणका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित यो झोलुंगे पुल कञ्चनपुरको महत्वपूर्ण ऐतिहासिक तथा पर्यटकीय सम्पदामध्ये एक हो।