चन्दा क्षेत्री/काठमाडौं । अस्ट्रेलियाली क्रिकेटर विल बोसिस्टो नेपाली क्रिकेटले पछिल्ला वर्षमा गरेको प्रगतिबाट प्रभावित छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनदेखि तेस्रो सिजनसम्मको अनुभव लिएका काठमाडौं गोर्खाजका अलराउन्डर बोसिस्टोले नेपाली क्रिकेटको विकास, समर्थकको उत्साह र प्रतियोगिताको बढ्दो स्तरको प्रशंसा गरेका छन् ।
एनपीएलको तेस्रो सिजनबाट बाहिरिएपछि पोस्टम्याचमा उनले नेपाली क्रिकेटले छोटो समयमै हासिल गरेको प्रगति उत्साहजनक रहेको बताए । विशेषगरी मैदानमा दर्शकको उपस्थिति, रंगशालाको स्तरोन्नति र अन्तर्राष्ट्रिय खेलाडीको बढ्दो आकर्षणले नेपाली क्रिकेटले लिइरहेको गति स्पष्ट पारेको उनको भनाइ छ ।
‘नेपाली क्रिकेटबारे सोच्दा मलाई साँच्चिकै खुसी लाग्छ । पछिल्ला वर्षमा यहाँको क्रिकेटले गरेको प्रगति निकै उत्साहजनक छ,’ बोसिस्टोले भने ।
एनपीएलका तीनवटै सिजनको अनुभव सुनाउँदै उनले पहिलो संस्करणको वातावरण अझै आफ्नो स्मृतिमा ताजा रहेको बताए । पहिलो सिजनको हरियाली मैदान, दर्शकको उपस्थिति, वरपरका रूख र प्राकृतिक वातावरणले आफूलाई विशेष अनुभव दिएको उनले सुनाए ।
क्रिकेटको पुरानो शैली मन पराउने बताउने बोसिस्टोले अहिले प्रतियोगिताका लागि भएको पूर्वाधार विकासलाई पनि उत्तिकै महत्त्वपूर्ण मानेका छन्। रंगशालाको स्तरोन्नति र फ्लडलाइट जडानले एनपीएललाई नयाँ उचाइमा पुर्याएको उनको विश्लेषण छ ।
‘अहिले रंगशालाको स्तरोन्नति, फ्लडलाइटलगायतका पूर्वाधार विकास हुनु निकै प्रशंसनीय छ । प्रतियोगिता हरेक सिजन थप उचाइतर्फ अघि बढिरहेको छ,’ उनले भने ।
अन्तर्राष्ट्रिय खेलाडीहरू एनपीएलमा सहभागी हुन इच्छुक हुनु नेपाली क्रिकेटका लागि ठूलो उपलब्धि भएको उनले बताए । प्रतियोगिताले प्रत्येक खेलमा सिर्जना गर्ने उत्साहपूर्ण वातावरण खेलाडीका लागि विशेष हुने उनको भनाइ छ ।
बोसिस्टोले एनपीएलको सफलताको श्रेय नेपाल क्रिकेट संघ (क्यान) सँगै प्रतियोगितालाई उत्साहका साथ समर्थन गर्ने नेपाली क्रिकेटप्रेमीलाई दिएका छन् । दर्शकको ठूलो उपस्थितिमा खेल्न पाउनु कुनै पनि खेलाडीका लागि विशेष अनुभव हुने उल्लेख गर्दै उनले नेपाली समर्थकको प्रशंसा गरे ।
‘कुनै पनि खेलाडी ठूलो दर्शकदीर्घा र उत्साहपूर्ण वातावरणमा खेल्न चाहन्छ । एनपीएलले हरेक खेलमा त्यस्तो वातावरण सिर्जना गरेको छ । एक खेलाडीका रूपमा यो प्रतियोगिताको जति प्रशंसा गरे पनि कम हुन्छ,’ उनले भने ।
एनपीएलमा पुनः खेल्ने इच्छा व्यक्त गर्दै बोसिस्टोले प्रतियोगिताले आगामी दिनमा हासिल गर्ने प्रगति हेर्न आफू उत्सुक रहेको बताए । प्रतियोगितालाई विशेष बनाउन योगदान गर्ने क्यान, स्वयंसेवक र सम्बन्धित सबैप्रति उनले आभार व्यक्त गरे ।
‘सम्भव भएसम्म आगामी दिनमा पनि यो प्रतियोगितामा फर्कन चाहन्छु,’ उनले भने ।
यस सिजन काठमाडौं गोर्खाजबाट खेलेका बोसिस्टोले प्रतियोगिताको पछिल्लो चरणमा टोलीले आफ्नो लय कायम राख्न नसकेको स्वीकार गरे । डेभिड वार्नरको अनुपस्थिति पनि टोलीका लागि ठूलो क्षति भएको उनको भनाइ थियो ।
वार्नरको योगदान रन बनाउनमा मात्रै सीमित नभई नेतृत्व क्षमता, खेलको रणनीतिक बुझाइ र युवा नेपाली खेलाडीलाई प्रेरित गर्ने भूमिकासमेत महत्त्वपूर्ण रहेको उनले बताए । वार्नरबिना पनि उपाधि जित्न सक्ने टोली भए पनि पछिल्ला खेलमा अपेक्षित प्रदर्शन गर्न नसक्दा काठमाडौं प्रतियोगिताबाट बाहिरिएको उनको विश्लेषण थियो ।
व्यक्तिगत रूपमा काँधको चोटका कारण यस सिजन बलिङ र फिल्डिङमा अपेक्षाअनुसार योगदान दिन नसकेको बोसिस्टोले बताए । यद्यपि, आगामी दिनमा अझ राम्रो प्रदर्शन गर्दै फर्कने आत्मविश्वास रहेको उनले सुनाए ।
एनपीएलको एलिमिनेटरमा बुधबार चितवन राइनोजसँग ६१ रनले पराजित भएपछि काठमाडौंको तेस्रो सिजनको यात्रा समाप्त भएको छ । चितवनले अब क्वालिफायर–२ मा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।