तनहुँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनमा जस्तो हुरीबतास नचल्ने बताएका छन् ।
मंगलबार तनहुँमा पार्टीको जागरण अभियानअन्तर्गत आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले स्थानीय तहको निर्वाचनमा उम्मेदवारको इतिहास, पृष्ठभूमि र कामका आधारमा मतदाताले निर्णय गर्ने बताए । नयाँ राजनीतिक दलले गरेका कामबारे नागरिकले विस्तारै बुझ्दै गएको उल्लेख गर्दै उनले त्यसबारे गाउँगाउँमा बुझाउन बाँकी रहेको बताए ।
‘स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भन्ने हुँदैन,’ दाहालले भने, ‘इतिहास र पृष्ठभूमि थाहा नभई भोट हाल्दैनन् ।’
स्थानीय तहमा पार्टीले राम्रो परिणाम ल्याउन कार्यकर्ताहरू सक्रियताका साथ चुनावी तयारीमा जुट्नुपर्ने उनको भनाइ थियो । कार्यकर्ताको सक्रियता जति बढ्छ, त्यति नै बढी सिट जित्न सकिने दाबी गर्दै उनले स्थानीय तहमा राम्रो परिणाम आए देश फेरि क्रान्तिको दिशामा अघि बढ्ने बताए ।