काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीले जनतामाझ पुग्न विभिन्न अभियान सञ्चालन गरे पनि उनीहरूसँग प्रभावकारी संवाद गर्न नसकेको बताएका छन् । जनतासँगको संवाद टुटेकै कारण बदलिँदो जनमनोविज्ञान बुझ्न नसकेको र निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको उनको निष्कर्ष छ ।
पार्टीको राष्ट्रिय भेलामा शुद्धीकरण र सुदृढीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरेलले वडा केन्द्रित, जरा केन्द्रित र ग्रासरुट अभियान सञ्चालन भए पनि ती अभियान जनतासँगको संवादमा केन्द्रित हुन नसकेको बताए । पार्टीका गतिविधि औपचारिकता र देखावटी काममा सीमित हुन थालेको उल्लेख गर्दै उनले त्यसमा सुधार नगरे आगामी निर्वाचनमा पनि अपेक्षित नतिजा हासिल गर्न नसकिने बताए ।
‘तीनवटै अभियानमा जनतासँग संवाद गर्ने काम कम भयो । जनतासँग संवाद नगरेसम्म जनाधार फिर्ता गर्न सकिँदैन,’ पोखरेलले भने, ‘पार्टी बलियो बनाउने हो भने जनतामा जानैपर्छ, उनीहरूका समस्या पहिचान गर्न र समाधानको नेतृत्व गर्न सक्नुपर्छ ।’
उनले आगामी निर्वाचनको तयारीका लागि स्थानीय राजनीतिक शक्ति सन्तुलनको वैज्ञानिक विश्लेषण गर्नुपर्नेमा जोड दिए । विगतका स्थानीय, प्रदेश र संघीय निर्वाचनका नतिजा विश्लेषण गरी पार्टीका बलिया, मध्यम र कमजोर क्षेत्र पहिचान गर्नुपर्ने उनको भनाइ थियो । साथै विपक्षी दलको संगठनात्मक अवस्था, जनप्रभाव, स्थानीय मुद्दा, जनसन्तुष्टि र सम्भावित चुनावी प्रभावसमेत मूल्याङ्कन गर्नुपर्ने उनले बताए ।
उम्मेदवार आफैँ छान्नुस्, जिताएर पनि देखाउनुस्
महासचिव पोखरेलले उम्मेदवार छनोटमा नेतृत्वलाई मात्र दोष दिने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् । अब कार्यकर्ताले नै उम्मेदवार छनोट गर्ने र आफूले छानेका उम्मेदवारलाई जिताउने जिम्मेवारीसमेत लिनुपर्ने उनको भनाइ छ ।
‘उम्मेदवार पनि आफैँ छान्नुस्, जिताएर देखाउनुस्,’ उनले भने, ‘कार्यकर्ताले उम्मेदवार छान्ने र कार्यकर्ताले नै जिताएर देखाउने संकल्प गरौँ ।’
उम्मेदवार छनोट गर्दा व्यक्तिगत अनुमानका आधारमा नभई जनमत सर्वेक्षण र व्यापक सुझाव संकलनमार्फत वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने उनले बताए । पार्टी कमजोर हुँदै जाँदा एकअर्कालाई दोष दिने प्रवृत्तिबाट मुक्त भएर सबैले जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए ।
पोखरेलले निर्वाचनमा कार्यकर्ता परिचालनका लागि केन्द्रदेखि पालिकासम्मका पार्टी कमिटी सक्रिय बनाउनुपर्ने बताए । पालिका तहमा संगठन र सदस्य परिचालनका लागि छुट्टै उपसमिति गठन गर्नुपर्ने उनको प्रस्ताव छ । सबै कमिटी र सदस्यको परिचालन भए–नभएको अनुगमन गर्न छुट्टै संयन्त्र बनाउनुपर्ने पनि उनले बताए ।
निर्वाचन प्रचार अभियानलाई परम्परागत र डिजिटल गरी दुई भागमा विभाजन गर्नुपर्ने उल्लेख गर्दै पोखरेलले डिजिटल प्रचारलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिए ।