काठमाडौँ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि काठमाडौँमा सुरु हुँदैछ। भेलामा सहभागी हुन पार्टीका विभिन्न तहका नेता तथा प्रतिनिधिहरू राजधानी आइपुगेका छन्।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसङ्गठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन्।
एमालेका उपमहासचिव लेखराज भट्टका अनुसार भेलामा पार्टीका केन्द्रीय तहदेखि स्थानीय तहसम्मका नेता तथा कार्यकर्ताको सहभागिता रहनेछ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
स्थानीय तहको निर्वाचनको तयारीस्वरूप आयोजना गरिएको भेलामा चुनावी रणनीति, संगठन सुदृढीकरण, पार्टीका गतिविधि तथा आगामी निर्वाचनमा अपनाउनुपर्ने योजनाबारे छलफल हुने बताइएको छ।