काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको सबैभन्दा बढी चिन्ता रहेको बताएका छन्।
मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै थापाले पार्टीभित्र आफूविरुद्ध हुने आलोचनाले चिन्तित नभए पनि देउवाका पछिल्ला सार्वजनिक अभिव्यक्तिले भने चिन्ता बढाएको बताए ।
प्रजातान्त्रिक आन्दोलनमा देउवाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थापाले उनलाई पार्टीको नेता र अभिभावकका रूपमा सम्मानका साथ प्रस्तुत हुन आग्रह गरे । विशेष महाधिवेशनप्रति असहमति राख्न पाइने भए पनि त्यसलाई राजनीतिक र मर्यादित ढंगले व्यक्त गर्नुपर्ने उनको भनाइ थियो ।
‘मेरो चिन्ता आजको दिनमा कसको हो भन्दाखेरि मेरो निवर्तमान सभापति आदरणीय नेता शेरबहादुर देउवाको चिन्ता हो,’ थापाले भने, ‘उहाँ हाम्रो नेता हो, हाम्रो अभिभावक हो ।’
विशेष महाधिवेशन पार्टीको विधि र विधानअनुसार सम्पन्न भएको दाबी गर्दै थापाले त्यसबारे प्रश्न उठाउन र असहमति राख्न पाइने बताए । तर, पार्टीभित्रका केही व्यक्तिले गर्ने आलोचनाभन्दा देउवाजस्तो वरिष्ठ नेताले सार्वजनिक रूपमा व्यक्त गर्ने अभिव्यक्तिप्रति आफू बढी संवेदनशील रहेको उनले उल्लेख गरे ।
विशेष महाधिवेशनपछि देखिएको पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्न आफू सधैँ तयार रहेको बताउँदै थापाले असन्तुष्ट नेताहरूसँग छलफल र संवादका लागि ढोका खुला रहेको पनि स्पष्ट पारे ।