काठमाडौं । नेपाली क्रिकेट टोली राइजिङ स्टार्स एसिया कपको समूह चरणबाटै बाहिरिएको छ । मंगलबार भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग ९६ रनले पराजित भएपछि नेपालको प्रतियोगिता यात्रा टुंगिएको हो ।
पाकिस्तानले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै समेटियो । नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलको सामना गर्दै अन्तिम विकेटका रूपमा आफ्नो विकेट गुमाए ।
त्यस्तै, बसिर अहमदले ११ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् भने ६ जना खेलाडी खाता नै नखोली आउट भए ।
पाकिस्तानका लागि मोहम्मद हस्नेन र सुफ्यान मोकिमले समान ३ विकेट लिए । इमरान रान्धवाले २ तथा माज सदाकतले १ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शाहीन्सले ४२ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका लागि रोहेल नाजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलको सामना गरेका थिए । हसन नवाजले २८, अहमद दनियालले १६, हैदर अलीले १५ तथा माज सदाकत र अब्दुल समदले समान १३ रन बनाए ।
नेपालका लागि रासिद खानले उत्कृष्ट बलिङ गर्दै ८ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए । यो उनको लिस्ट ‘ए’ करियरको पहिलो पाँच विकेट प्रदर्शन हो । लिस्ट ‘ए’ क्रिकेटमा डेब्यु गरेका अभिशेष गौतमले २ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट हात पारे ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भने यूएईलाई पराजित गरेको थियो ।
समूह ‘बी’ का तीनवटै खेल जितेको पाकिस्तान शाहीन्स समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भारत ‘ए’ उपविजेता बन्दै अन्तिम चारमा पुगेको छ । नेपालको भने समूह चरणबाटै यात्रा समाप्त भएको छ ।