धादिङ । धादिङमा एक अधवैंशे महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्लाको गजुरी गाउँपालिका-२ झुलुङ्गे पुल नजिकै मंगलबार बिहान ५:३० बजे ४५ वर्षीया महिललाई जबरजस्ती करणी गरेर फरार भएका युवकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङमा मंगलबार बिहान ६:४५ बजे सेतो सर्ट, सेतो पाईन्ट र कानमा मुन्द्रा लगाएको २०/२२ वर्षकको युवकले जबरजस्ती करणी गरेर फरार रहेको भन्दै सूचना पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-२ चाम्बास बस्ने बर्ष २१ को आईमान सिं तामाङ रहेका छन् । घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीलाई उनलाई नियन्त्रणमा लिएर पीडित महिलाबाट सनाखत गराएर थप प्रकिया अगाडि बढाएको हो ।
उनीहरूमाथी जबरजस्ती करणी कसूरमा धादिङ जिल्ला अदालतबाट दश दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी जैसवारले बताए ।
नेपालको कानुनले कुनै महिलालाई निजको मञ्जुरी नलिइ करणी गरेमा उमेर र परिस्थिती हेरेर सजाय तोकेको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ (ङ) अनुसार अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गर्नेमाथि सात वर्षदेखि १० वर्षसमम्म सजाय तोकेको छ ।