सिन्धुलीको कमलामाई नगरपालिका ५ बोझेका तीन किशोरीमाथि सामूहिक बलात्कार भएको छ । तीन किशोरीलाई त्यही ठाउँमा बस्ने नौ युवकले हिजो शनिवार राति बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रहरी निरीक्षक रामभक्त भट्टराईले बलात्कार गर्नेमध्ये २२ वर्षीय हिमा लामा, २४ वर्षीय गणेश मगर र २२ वर्षीय विवेक मगरलाई पक्राउ गरिएको बताए । बाँकी ६ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको भट्टराईले बताए ।
बलात्कृत हुने किशोरीहरू १५, १६ र १७ वर्षका रहेको बताइएको छ । बलात्कृत किशोरीका अभिभावकले किटानी जाहेरी दिइ यस घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन्। मेडिकल जाँचका क्रममा पनि तीन किशोरीमाथि बलात्कार भएको खुलेको जनाइएको छ ।
बलात्कार गर्नेमध्ये एक युवक र बलात्कृत हुने एक किशोरीबीच पहिलेदेखि नै चिनजान रहेको प्रहरीले जनाएको छ ।