काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) लाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यसहित आठवटै फ्रेन्चाइज टोलीका घरेलु मैदान निर्माण तथा प्रतियोगितालाई ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने विषयमा सरकारले प्रक्रिया अघि बढाएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल क्रिकेट संघ (क्यान) र एनपिएलका आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग रंगशाला निर्माण र प्रतियोगिताको नयाँ ढाँचाबारे छलफल गरेका हुन्।
प्रधानमन्त्री बालेन्द्र शाहले एनपिएलको छैटौँ संस्करणदेखि आठवटै फ्रेन्चाइजका आफ्नै फ्लडलाइटयुक्त घरेलु मैदान निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेका थिए। उक्त घोषणालाई कार्यान्वयनमा लैजान मन्त्रालयले क्यान र फ्रेन्चाइज टोलीसँग योजना निर्माण तथा सम्भावित मोडालिटीबारे छलफल थालेको हो।
छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटा रंगशाला निर्माण गर्नुको सट्टा चरणबद्ध रूपमा पूर्वाधार विकास गर्नुपर्ने प्रस्ताव गरेका छन्। आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा मैदानमा ‘होम एन्ड अवे’ प्रणालीको अभ्यास सुरु गर्दै पाँचौँ र छैटौँ संस्करणसम्म सबै आठ टोलीका घरेलु मैदानमा खेल सञ्चालन गर्ने लक्ष्यसहित योजना बनाउनुपर्ने उनको धारणा थियो।
रंगशाला निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउने वा फ्रेन्चाइज टोलीलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मेवारी सुम्पिने विकल्पमा सरकार खुला रहेको मन्त्री पोखरेलले बताएका छन्। टोलीहरूलाई नै निर्माण प्रक्रियामा सहभागी गराउँदा पूर्वाधारप्रति अपनत्व बढ्नुका साथै निर्माण कार्यले गति लिने उनको विश्वास छ।
एनपिएल सञ्चालनका क्रममा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र डीआरएस प्रणालीमा हुने खर्चसमेत छलफलको विषय बनेको थियो। एउटै मैदानमा प्रतियोगिता सञ्चालन गर्दा पनि लागत उच्च हुने भएकाले ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा खर्च र आम्दानीको बाँडफाँट स्पष्ट हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।
क्यान सचिव पारस खड्काले त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका लागि तयार गरिएका महँगो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) परिमार्जन गरी कम बजेटमा निर्माण अघि बढाउन सकिने प्रस्ताव गरेका छन्। त्रिवि, मूलपानी र चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशाला १० महिनाभित्र तयार पार्न सकिने उनको भनाइ थियो।
प्रधानमन्त्रीको घोषणाप्रति खुसी व्यक्त गर्दै खड्काले फ्रेन्चाइज टोलीहरूबीच पूर्वाधार निर्माणमा सहकार्य गर्न सकारात्मक वातावरण रहेको बताए।
फ्रेन्चाइज टोलीका प्रतिनिधिहरूले आगामी सिजनअघि नै त्रिवि मैदानको दर्शक क्षमता बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। अन्य मैदानको निर्माणमा पनि आपसी सहकार्य गर्न आफूहरू तयार रहेको उनीहरूको भनाइ थियो।
निजी क्षेत्रबाट रंगशाला निर्माण तथा सञ्चालनमा लगानी आकर्षित गर्न सरकारले दीर्घकालीन र स्पष्ट नीति ल्याउनुपर्ने प्रतिनिधिहरूले बताएका छन्। खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने वातावरण बनाउन तथा प्रायोजनसम्बन्धी नीतिगत जटिलता हटाउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
आगामी सिजनका लागि त्रिवि मैदानलाई व्यवस्थित बनाउने, मूलपानी र चितवनको रंगशाला निर्माणलाई तीव्रता दिने तथा बिहानका खेल मूलपानी र साँझ फ्लडलाइटमा हुने खेल त्रिवि मैदानमा सञ्चालन गर्ने व्यावहारिक विकल्पसमेत प्रस्तुत गरिएको थियो।
मन्त्री पोखरेलले एनपिएललाई व्यावसायिक दृष्टिकोणबाट अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै फ्रेन्चाइज टोलीसँगको सहकार्यमा पीपीपी मोडलमार्फत पूर्वाधार निर्माण गर्न सरकार इच्छुक रहेको बताए। आवश्यक मोडालिटी तयार गरी रंगशाला निर्माणको काम छिट्टै अघि बढाइने उनको भनाइ थियो।
एनपिएललाई एउटै मैदानमा सीमित नराखी टोलीका आफ्नै घरेलु मैदानमा विस्तार गर्ने योजनाले प्रतियोगिताको व्यावसायिक विकास, स्थानीय दर्शकको सहभागिता र क्रिकेट पूर्वाधार विस्तारमा नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।