काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको दोस्रो खेलमा लुम्बिनी लायन्सका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली याक्स सामान्य योगफलमा समेटिएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०५ रन मात्रै बनाउन सक्यो ।
कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । उनले १८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, हुसेन तलतले २२ बलमा २ चौका र १ छक्कासहित २४ रन जोडे ।
गुल्सन झाले १३ रन बनाउँदा पवन सर्राफ १२ रनमा आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आएका दीपेन्द्र रावत खाता नै नखोली आउट भए । अरिफुल इस्लाम र दीपक डुम्रेले समान ४, नयाँ कप्तान डेभिड मिलरले ५, मार्क वाटले २ तथा नन्दन यादवले ३ रन बनाए ।