काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। विराटनगरले १३६ रन बनाउँदै प्रतियोगितामा तेस्रो जित दर्ता गरेको हो।
यो जितसँगै ६ खेलबाट ६ अंक जोडेको विराटनगर अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ। विराटनगरको प्लेअफ पुग्ने सम्भावना कायमै रहेको छ। लिग चरणको अन्तिम खेलमा विराटनगरले लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।
अर्कोतर्फ, पोखराको यो छैटौँ खेलमा पाँचौँ हार हो। २ अंकमा सीमित पोखरा प्लेअफ होडबाट बाहिरिने पहिलो टोली बनेको छ।
विराटनगरको जितमा बसिर अहमदले सर्वाधिक ३७ रन बनाए। उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरे। ओपनर लोकेश बमले २७ बलमा समान २ चौका र छक्कासहित ३३ रन जोडे।
त्यस्तै, इसुरु उडानाले १२ बलमा ४ चौका र १ छक्काको मद्दतमा अविजित २५ रन बनाए। उनले नै विजयी चौका प्रहार गरेका थिए। शेहान जयसूर्याले १४ बलमा २ चौकासहित अविजित १७ रनको योगदान दिए।
विराटनगरका इमरान शेखले १० र एन्जेलो म्याथ्युजले ८ रन बनाए। चरिथ असलंका र प्रतिश जिसीले भने खाता खोल्न सकेनन्।
बलिङमा पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २–२ विकेट लिए भने बिपिन खत्री र धनन्जय लक्षणले १–१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो।
पोखराका ओपनर युवराज सिंह सम्राले आक्रामक ब्याटिङ गर्दै ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८४ रन बनाए। तर, उनलाई अन्य ब्याटरले पर्याप्त साथ दिन सकेनन्।
धनन्जय लक्षणले १५ बलमा १ चौका र १ छक्कासहित २२ रन बनाए भने सन्नी विकले ११ बलमा १ छक्काको मद्दतमा १२ रन जोडे। यी तीन खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एक समय ७६ रनमा ५ विकेट गुमाएको पोखराको इनिङ्स सम्हाल्ने क्रममा युवराज र धनन्जयले छैटौँ विकेटका लागि ४६ रनको साझेदारी गरेका थिए।
पोखराका अर्जुन कुमालले १, अर्जुन घर्ती र बिपिन खत्रीले समान ५ रन बनाए। कुशल भुर्तेल, रमेश मेन्डिस, कप्तान चमिका करुणारत्ने र किरण ठगुन्ना शून्य रनमै आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।
विराटनगरका कप्तान सन्दीप लामिछानेले पोखराको ब्याटिङ ध्वस्त पार्ने क्रममा ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिए। उनले खेलको १५औँ ओभरको तेस्रो, चौथो र पाँचौँ बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए।
सन्दीप एनपीएलमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि काठमाडौँ गोर्खाजका शाहब आलम र लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए।
यसअघि प्रतियोगिताका पाँच खेलमा जम्मा १ विकेट लिएका सन्दीपले यस खेलमा मात्रै ६ विकेट हात पारे। उनी एनपीएलमा एकै खेलमा ६ विकेट लिने तेस्रो खेलाडीसमेत बनेका छन्। यसअघि शाहब आलम र कर्णाली याक्सका विलियम बोसिस्टोले एकै खेलमा ६ विकेट लिएका थिए।
पोखराका एन्जेलो म्याथ्युज, चरिथ असलंका र रुपेश सिंहले विराटनगरका लागि १–१ विकेट लिए।