जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्ष छठ पर्व मनाउन जनकपुरधाम आउने तयारीमा छन्। उनले पार्टीसँग असम्बन्धित सर्वसाधारणको घरमा बसेर परिवारसहित छठका सबै विधिमा सहभागी हुने तयारी गरेका छन्।
रास्वपा नेता तथा सांसद मनिष झाले लामिछानेको जनकपुरधाम भ्रमणका लागि तयारी तीव्र पारिएको जानकारी दिए। उनका अनुसार लामिछाने श्रीमती निकिता पौडेल र परिवारका अन्य सदस्यसहित जनकपुर आउनेछन्। निकिताले खरनादेखि भोलिपल्ट बिहानको अर्घ्यसम्मका सबै विधिमा व्रत बसेर सहभागी हुने तयारी गरेको उनले बताए।
लामिछानेले छठका विधिमा सहभागी हुन पार्टीका कुनै सदस्य वा तिनका आफन्तको घर नभई सामान्य सर्वसाधारणको घर रोज्न आग्रह गरेको झाले बताए। राजनीतिक आग्रह र प्रभावबाट मुक्त रहेर सर्वसाधारणसँगै पर्व मनाउने उद्देश्यले यस्तो व्यवस्था गर्न खोजिएको उनको भनाइ छ।
‘सभापतिज्यूले जनकपुरको कुनै एक सामान्य नागरिकको घरमा बसेर सपरिवार सबै विधिमा सहभागी हुने भन्नुभएको छ,’ झाले भने, ‘त्यो व्यक्ति पार्टीको सदस्य वा सदस्यको आफन्तसमेत नहोस् भन्ने उहाँको आग्रह छ।’
झाका अनुसार लामिछानेको भ्रमणमा कुनै राजनीतिक कार्यक्रम राखिने छैन। सकेसम्म धेरै छठ घाट पुगेर सर्वसाधारणसँग भेटघाट गर्ने तयारी छ। भीडभाड व्यवस्थापनलाई ध्यानमा राखेर पूजाका कार्यक्रम मिलाइँदै छ।
विगतमा विवाहपञ्चमीलगायतका कार्यक्रममा राजनीतिक सवारीका कारण व्यापार व्यवसाय प्रभावित हुनुका साथै सर्वसाधारणलाई आवतजावतमा असहज भएको र सुरक्षा चुनौतीसमेत देखिएको अनुभवका आधारमा यसपटक त्यस्ता समस्या दोहोरिन नदिने गरी तयारी गरिएको झाले बताए।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र साहको जनकपुरधाम भ्रमणबारे भने कुनै औपचारिक जानकारी प्राप्त नभएको उनले बताए।