जनकपुरधाम । छठ पर्व नजिकिएसँगै जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रमा पोखरी, तालतलैया तथा नदी किनारका घाटहरू सिँगार्न थालिएको छ। पर्वको मुख्य केन्द्र मानिने जनकपुरधामका पोखरीहरूमा सरसफाइ, सजावट तथा व्यवस्थापनका काम तीव्र पारिएको छ।
जनकपुरधामस्थित गंगासागर पोखरीमा छठ पूजाको तयारी अन्तिम चरणमा पुगेको छ। पोखरीको धार्मिक तथा पर्यटकीय महत्त्वलाई ध्यानमा राख्दै छठ पूजा तयारी समिति र स्थानीय युवा करिब १० दिनदेखि व्यवस्थापनमा जुटेका छन्। गंगासागर धर्मशाला भगवान् शिव मन्दिर सेवा समितिका प्रतिनिधिका अनुसार पोखरी परिसरको सरसफाइ र रङरोगनसँगै धर्मशाला क्षेत्रलाई समेत आकर्षक बनाउने काम भइरहेको छ। पूर्वज तथा गुठी संस्थानले निर्माण गरेको धर्मशाला भवनको गरिमा बढाउने र पर्यटक आकर्षित गर्ने उद्देश्यले परिसर सिँगारिएको उनले बताए।
गंगासागर छठ पूजा समितिले विगत ३३ वर्षदेखि यहाँ छठ पर्वको व्यवस्थापन गर्दै आएको छ। यस वर्ष पनि भक्तजनको सुविधालाई ध्यानमा राखेर पाल, पण्डाल, बिजुली बत्ती तथा सांस्कृतिक बाजागाजासहित पूजाको व्यवस्था मिलाइएको समितिले जनाएको छ। पर्वलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न तयारी लगभग पूरा भएको र स्वयंसेवक परिचालन गरिने समितिको भनाइ छ।
यसैबीच, प्रधानमन्त्री बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि यस वर्ष छठ पूजा गर्न जनकपुरधाम आउन सक्ने चर्चा रहेको समितिले जनाएको छ। उनीहरूको स्वागतका लागि गंगासागरस्थित छठ पूजा, सूर्य तथा छठीमाई मन्दिरअगाडि पूजा गर्ने स्थानको व्यवस्थासमेत मिलाइएको छ। समितिले दुवै जनालाई जनकपुरधाम आएर छठ पूजा गर्न निमन्त्रणा दिएको छ।
छठमा सूर्यदेव र छठी माताको पूजा गरी परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने परम्परा छ। जनकपुरधामका पोखरी तथा घाटहरूमा भइरहेको सरसफाइ र सजावटले पर्वको रौनक बढाएको छ।