मकवानपुर– चक्रवात ‘अर्नव’को प्रभावले लगातार वर्षा भएपछि मुलुककै ठूलो जलाशययुक्त कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानीको सतह बढ्दै गएको छ।
शुक्रबारदेखि सुरु भएको वर्षा शनिबार पनि जारी रहेपछि जलाशयमा पानीको सतह निरन्तर उकालो लागेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। कार्यालयका अनुसार शनिबार बिहानसम्म जलाशयमा पानीको सतह समुद्री सतहबाट १ हजार ५२७.६६ मिटर पुगेको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले शनिबार दिउँसोसम्म पानीको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने अनुमान गरिएको बताए। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार दिउँसो २ बजेसम्म मध्यम वर्षा हुने र त्यसपछि मौसममा सुधार आउने सम्भावना छ।
उनले जलाशयमा पानीको सतह बढिरहेकाले नदी तथा खोला किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको जानकारी दिए।
शनिबार बिहान ६ बजे १ हजार ५२७.४२ मिटर रहेको जलाशयको सतह दुई घण्टामै बढेर बिहान ८ बजे १ हजार ५२७.५० मिटर पुगेको थियो। त्यसपछि पनि पानीको सतह बढ्ने क्रम जारी रहेको छ।
जलाशयमा पानीको चाप व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि नेपाल विद्युत् प्राधिकरणले कुलेखानीका तीनवटै विद्युत् उत्पादन केन्द्र पूर्ण क्षमतामा सञ्चालन गरेको छ। पहिलो युनिटबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ मेगावाट गरी कुल १०६ मेगावाट विद्युत् उत्पादन भइरहेको छ।
कुलेखानी प्रथम जलविद्युत् आयोजनाका प्रमुख प्रल्हाद राउतका अनुसार तीनवटै युनिट निरन्तर सञ्चालन गर्दा दैनिक करिब ४० देखि ५० सेन्टिमिटर पानीको सतह घट्ने गर्छ।
उनका अनुसार कुलेखानी जलाशयको अधिकतम पानी भण्डारण क्षमता समुद्री सतहबाट १ हजार ५३० मिटर हो। जलाशय भरिन अझै करिब साढे दुई मिटर बाँकी रहेकाले तत्काल बाँध खोल्नुपर्ने अवस्था नरहेको उनले बताए। आवश्यक परे बाँधमा बालुवाका बोरा राखेर थप ५० सेन्टिमिटरसम्म पानी संकलन गर्न सकिने उनको भनाइ छ।
‘असोजमा जस्तो अत्यधिक भारी वर्षा नभएकाले तत्काल जलाशय भरिने सम्भावना छैन। जलाधार क्षेत्रमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। जलाशय भरिने अवस्था आएमा पनि तल्लो तटीय क्षेत्रका नागरिकलाई पूर्वसूचना दिएर मात्र बाँध खोल्नेछौँ,’ उनले भने।
सम्भावित बाढीको जोखिमबारे पूर्वसूचना दिन आयोजनाले तल्लो तटीय क्षेत्रका सिस्नेरीलगायत स्थानमा साइरन जडान गरेको छ। जलाशयमा पानीको सतह १ हजार ५२९ मिटर पुग्नेबित्तिकै पहिलो साइरन बज्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ।