म्याग्दी– शुक्रबार अपराह्नदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध भएका छन्। दुवै सडक आज बिहानदेखि ठप्प भएका हुन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा पहिरो खसेपछि बेनी–दरवाङ सडक अवरुद्ध भएको छ। त्यसैगरी सिरुवारी, खामभित्तालगायत स्थानमा पहिरो खस्दा बेनी–जोमसोम सडकसमेत अवरुद्ध भएको हो।
निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक खुलाउने प्रयास सफल हुन सकेको छैन। सडक विभाग र पूर्वाधार विकास कार्यालयले सडक सञ्चालनका लागि प्रयास गरिरहेका छन्।