म्याग्दी– शरद ऋतुको सुरुआतसँगै चिसो बढ्न थालेपछि म्याग्दीका पशुगोठ लेकाली क्षेत्रका बुकीबाट बेँसीतर्फ झर्न थालेका छन्। बर्खायाममा हिमालको फेदीसम्म पुगेका गाईभैँसी तथा भेडाबाख्राका गोठ अहिले गाउँनजिकका खर्कमा सार्न थालिएको हो।
पशुचौपायाका लागि पोषिलो घाँस पाइने हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तु राख्ने ठाउँलाई खर्क भनिन्छ। धौलागिरि गाउँपालिका–१ गुर्जाका हर्कवीर विकले फागुनेको बुकीमा तीन महिना घाँस चराएपछि गोठ गाउँनजिक ल्याएको बताए।
वैदेशिक रोजगारीबाट फर्किएर ३५ वटा भैँसी पालेका विकका अनुसार अहिले मकै भित्र्याएको बारीमा गोठ राखिएको छ। कोदो भित्र्याएपछि भने मङ्सिरमा बेँसीका फाँटमा गोठ सार्ने चलन छ। पोषिलो घाँस खाएर मोटाएका गाईभैँसी, गोरु तथा भेडाबाख्राको बथानलाई अघि लगाउँदै गोठाला आवश्यक बन्दोबस्तीका सामान बोकेर लेकबाट बेँसी झर्ने गर्छन्।
गोठाला र पशुचौपाया गाउँ फर्किएसँगै गुर्जामा चहलपहल बढेको स्थानीय राजिन छन्त्यालले बताए। गाउँनजिकका पाखाबारीमा गाईगोरु, बाच्छाबाच्छी, भैँसी तथा भेडाबाख्रा चरिरहेका देखिन्छन्। महिनौँसम्म घरपरिवारबाट टाढा रहेर गोठमा समय बिताएका गोठाला गाउँ फर्किएपछि मात्रै परिवारका सदस्यसँग भेटघाट गर्न पाउँछन्।
हिमाली बुकीको पोषिलो घाँस खाएका पशुचौपाया स्वस्थ, बलिया र बढी दूध दिने हुने धौलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालले बताए। खर्कमा ढुङ्गाको पर्खाल बनाएर त्यसमाथि काठ र निगाला राखी त्रिपाल वा पालले छोपेर अस्थायी गोठ निर्माण गरिन्छ। ढोरपाटन शिकार आरक्ष, अन्नपूर्ण र धौलागिरि हिमाल आसपासका क्षेत्रमा यसरी गोठ राखेर पशुपालन गर्ने परम्परा छ।
धौलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ, मल्कवाङ तथा रघुगङ्गा गाउँपालिकाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले घुम्ती गोठमार्फत परम्परागत पशुपालन गर्दै आएका छन्। त्यसैगरी अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसानले पनि यो परम्परालाई निरन्तरता दिइरहेका छन्।
घुम्ती गोठमा पशुपालन गर्दा बेँसीका खेतबारीमा गोठ राखेर मल जम्मा गर्ने र जमिनलाई मलिलो बनाउने परम्परागत अभ्याससमेत रहेको छ। तर युवा पुस्ताको घट्दो आकर्षण र वैदेशिक रोजगारीका कारण घुम्ती गोठमा आधारित पशुपालन व्यवसाय सङ्कटमा पर्दै गएको धौलागिरि गाउँपालिका–४ का कीर्तबहादुर घर्तीले बताए।