काठमाडौं । बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार पहिरो तथा बाढीले सडकमा क्षति पुर्याएपछि ती जिल्लाका केही स्थानमा यातायात सेवा प्रभावित भएको हो।
सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा रातिको समयमा सवारी आवागमन बन्द गरिएको छ।
गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुल बुढीगण्डकी नदीको बाढीले बगाएपछि दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ।
यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थली र वडा नं. ८ को गिम्दीबेँसीमा पहिरो खसेपछि बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ स्थित औलिसेमासुक्खामा पहिरो खसेपछि कर्णाली राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।