काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारण सभा शुक्रबार काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।
प्रस्तावित लाभांशमा ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६ प्रतिशत नगद लाभांश रहेको छ। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरणसमेत पारित गरेको छ।
अध्यक्ष ढकालका अनुसार बैंकले आर्थिक वर्ष २०८२/८३ मा ८ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब ४ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको छ। सेयरधनीलाई ३ अर्ब ८१ करोड १५ लाख ८५ हजार २ सय ६१ रुपैयाँ बराबरको प्रतिफल ६ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयरका रूपमा वितरण गर्ने प्रस्ताव गरिएको उनले बताए।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ पुग्ने अध्यक्ष ढकालले बताए।
ढकालले रेमिट्यान्सलाई बैंकको व्यवसायको प्रमुख आधारका रूपमा अघि बढाउँदै यसको बजार विस्तार तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए।
“विप्रेषण नेपालको अर्थतन्त्रको मेरुदण्ड भएझैँ बैंकको व्यवसायको पनि एउटा प्रमुख आधार हो,” उनले भने।
विदेशमा रहेका नेपालीलाई सहज रूपमा खाता खोल्न र सञ्चालन गर्न अनलाइन एकाउन्ट तथा भिडियो केवाईसी सेवालाई थप प्रभावकारी बनाउने र विप्रेषणमा आधारित कर्जा लगानीलाई प्रवर्द्धन गर्ने उनले बताए।
नेपाल सरकार र नेपाल राष्ट्र बैंकका नीति तथा निर्देशनको पूर्ण पालना गर्दै बैंकलाई सुरक्षित, भरपर्दो र सन्तुलित रूपमा विस्तार गर्ने प्रतिबद्धता पनि ढकालले दोहोर्याए। ग्राहकलाई सहज तथा अत्याधुनिक सेवा दिन डिजिटल बैंकिङमा थप लगानी विस्तार गरिने उनले बताए।
सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली आवश्यकताअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ।
ग्लोबल आइएमई बैंकले हाल ७७ वटै जिल्लामा ३४१ शाखा, ३६६ एटीएम, १४७ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको जनाएको छ। बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।
बैंकले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि संस्थागत सामाजिक उत्तरदायित्व र कर्मचारीको एक दिनको तलबसहित ५ करोड ७५ लाख ९२ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको पनि जनाएको छ।