काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा चौथो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा ८० वर्षीय लुलाले ४५ वर्षीय सिनेटर फ्लाभियो बोल्सोनारोलाई पराजित गरेका हुन्। फ्लाभियो पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा हुन्।
ब्राजिलको निर्वाचन कार्यालयका अनुसार लुलाले कुल सदर मतको ५१.८ प्रतिशत प्राप्त गर्दा उनका प्रतिस्पर्धी बोल्सोनारोले ४८.२ प्रतिशत मत पाएका छन्। यस जितसँगै लुलाले सन् २०२७ देखि २०३० सम्म ब्राजिलको नेतृत्व गर्नेछन्।
पहिलो चरणको निर्वाचनमा लुलाभन्दा बोल्सोनारो अगाडि रहे पनि दोस्रो चरणमा लुलाले पुनरागमन गर्दै जित हासिल गरेका हुन्।
लुलाको विजयलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गर्दै आएको ल्याटिन अमेरिकी क्षेत्रमा दक्षिणपन्थी राजनीतिक प्रभाव विस्तार गर्ने प्रयासका लागि धक्काका रूपमा हेरिएको छ।
यद्यपि, नयाँ कार्यकालमा लुलासामु विभिन्न चुनौती रहनेछन्। संसद्मा बोल्सोनारोको लिबरल पार्टीको बलियो उपस्थिति, सार्वजनिक ऋण नियन्त्रण र आर्थिक स्थायित्व कायम गर्नु उनका प्रमुख चुनौती हुनेछन्।
निर्वाचन परिणाम सार्वजनिक हुने क्रममा आइतबार साँझ साओ पाउलोस्थित पाउलिस्टा एभिन्युमा लुलाका सयौँ समर्थक भेला भएका थिए। उनीहरूले लुलाको तस्बिर अंकित रातो झन्डा बोकेर मतगणनाको परिणाम हेरेका थिए।
लुलाको जितपछि उत्साहित समर्थकहरूले यसलाई लोकतन्त्रको विजयका रूपमा व्याख्या गरेका छन्।