काठमाडौं। विपद्पछिको खोज तथा उद्धारका क्रममा अनियन्त्रित रूपमा ड्रोन उडाउने र हवाई क्षेत्रको उचित व्यवस्थापन नहुँदा हेलिकप्टर तथा अन्य हवाई साधनबीच ठोक्किने जोखिम उच्च रहेको प्रधानसेनापति अशोकराज सिग्देलले बताएका छन्।
शुक्रबार भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा बोल्दै सिग्देलले ड्रोन सञ्चालक र हेलिकप्टर पाइलटबीच प्रभावकारी सञ्चार तथा समन्वय नहुँदा उद्धार उडान जोखिमपूर्ण बनेको बताए।
ड्रोन र हेलिकप्टरका चालकबीच प्रत्यक्ष सञ्चार तथा समन्वय हुन सके उडान सुरक्षित बनाउन सकिने भए पनि त्यसको अभावमा उद्धार कार्यमा चुनौती थपिएको उनको भनाइ थियो। विपद्का बेला एउटै क्षेत्रमा धेरै हेलिकप्टर परिचालन हुने र अनियन्त्रित रूपमा ड्रोन उडाइने हुँदा हवाई दुर्घटनाको जोखिम बढ्ने उनले बताए।
‘ड्रोन र हेलिकप्टरबीच उचित सञ्चार तथा हवाई क्षेत्र व्यवस्थापन नहुँदा आपसमा ठोक्किने जोखिम अत्यन्तै उच्च थियो,’ उनले भने, ‘यसले उद्धार कार्यकै क्रममा अर्को दुर्घटना निम्तिन सक्ने त्रास सिर्जना गरेको थियो। त्यसैले उद्धारका क्रममा प्रभावकारी हवाई समन्वय र एयरस्पेस व्यवस्थापन आवश्यक देखियो।’
बैठकमा विपद्का बेला अग्रमोर्चामा खटिने हवाई तथा स्थल सुरक्षा निकायबीच पर्याप्त सञ्चार र समन्वयको अभावले उद्धार कार्य थप चुनौतीपूर्ण बनेको विषय पनि उठेको थियो। विशेषगरी उद्धार क्षेत्रमा अनुमतिबिना ड्रोन उडाउँदा हेलिकप्टर पाइलटले उडान सुरक्षामा चुनौती व्यहोर्नुपरेको उल्लेख गरिएको थियो।